पूर्व गृहमन्त्री खाँण आज रिहा हुँदै

न्युजलय २९ मङ्सिर २०८०, शुक्रबार ०५:२० मा प्रकाशित

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा थुनामा रहेका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण शुक्रबार(आज) थुनामुक्त हुने भएका छन् ।

बिहीबार उच्च अदालत पाटनले मंसिर १५ गते न्यायाधीश जनक पाण्डेले गरेको फैसला सदर गरेपछि उनी आज रिहा हुन लागेका हुन् । बिहीबार कृष्णराम कोइरालाको एकल इजलासले यसअघि पाण्डेले गरेको ३० लाख धरौटीमा छाड्ने निर्णय सदर गरिदिएका थिए ।

खाण पक्षका एक वकिलका अनुसार उच्च अदालतको आदेशबमोजिम शुक्रवार काठमाडौँ जिल्ला अदालतमा धरौटी बुझाएपछि खाण रिहा हुनेछन। उच्च अदालतको आदेश जिल्ला अदालतमा दर्ता हुने र त्यसपछि धरौटी बुझाएर खाँण आजै रिहा हुनेछन् । कारागारबाट उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केही बेर हाजिर गराउने पनि बताईएको छ ।

बैशाख २७ गते पक्राउ परेका खाँणसहितका नेताहरुलाई असार १ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले थुनामा नै राख्न आदेश दिएको थियो ।