एजेन्सी । क्यानडालाई ७ विकेटले हराउँदै पाकिस्तानले आईसीसी टी२० विश्वकप २०२४ मा पहिलो जित हात पारेको छ । योसँगै पाकिस्तानको सुपर ८ को सम्भावना कायम रहेको छ ।
१०७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको थियो ।
यसअघि पाकिस्तान अमेरिकासँग सुपर ओभर र भारतसँग ६ रनले हारेको थियो । क्यानडा पहिलो खेलमा अमेरिकासँग ७ विकेटले पराजित हुँदा आयरल्यान्डलाई १२ रनले हराएको थियो ।
पाकिस्तानले अन्तिम खेल १६ जुनमा आयरल्यान्डसँग खेल्नेछ । पाकिस्तान अन्तिम खेलमा विजयी भएमा तथा अमेरिकाले बाँकी दुई खेल भारत र आयरल्यान्ड दुबैसँग हारेमा नेटरनरेटमा माथि रहँदै सुपर ८ खेल्न सक्छ ।