उम्मेदवारी दर्ताको जुलुसमा गएकी महिलाको मृत्यु

न्युजलय १२ बैशाख २०७९, सोमबार ०१:१३ मा प्रकाशित

दार्चुला । नेकपा एमालेले उम्मेदवारी दर्ताका लागि निकालेको जुलुसमा गएकी एक महिलाको नौगाड गाउँपालिका–३ स्थित गोगनेमा मृत्यु भएको छ । जुलुसमा सहभागी नौगाड गाउँपालिका–२ सुण्डमुण्डकी करिब ५५ वर्षीया पाना टमटाको मृत्यु भएको खार स्वास्थ्य चौकीले जनाएको छ । 

 

स्थानीय रघुवीर ठगुन्नाका अनुसार मनोनयन दर्ता गर्न सुण्डमुण्डबाट बाजागाजासहित नाच्दै (छलो) खेल्दै जाने बेला जामिरको सरद्वारीको सडकमै लडेर बेहोस भएकी थिइन् । बेहोस भएकी टमटालाई बोकेर खार स्वास्थ्य चौकीमा नपुगाउँदै बाटोमै मृत्यु भएको स्वास्थ्य चौकी इन्चार्ज गोविन्दसिह ठगुन्नाले बताए ।

 

स्थानीय रघुवीरका अनुसार अस्पताल लैजान गाडी नपाएपछि पिठ्युँमै बोकेर एक घण्टाको उकालो खार स्वास्थ्य चौकी पुर्‍याए पनि बाटोमै मृत्यु भएको हो । नौगाड गाउपालिकामा आइतबार नेकपा एमालेले आफ्नो दलको तर्फबाट अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराएको छ ।