इटहरीलाई कर्मथलो बनाएका महम्मदको लाठीको भरमा संघर्ष

अर्जुन राई अपहेलित १९ मङ्सिर २०७८, आइतबार ०६:३३ मा प्रकाशित

भनिन्छ, संघर्ष नै सफलता प्राप्तिको बलियो आधार हो । अपाङ्ग भएता पनि सपाङ्ग झैं व्यवसाय गरिरहेका महम्मद त्यसको एक उदाहरण बनेका छन् । बाल्यकाल देखि नै कपाल काट्ने (हजम) पेशा अंगालेका महम्मद खेइरुला ओस्ता आफ्नै पौरखमा बाँच्न चाहन्छन् । भिनाजु बाट प्रेरित भई १० वर्षको उमेर देखि कपाल काट्न सुरु गरेका उनी हाल सम्म त्यही पेशामा आत्म निर्भर बनिसकेका छन् । 


वि.सं. २०४२ सालमा रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ५ लक्ष्मीनियाँ टोलमा जन्मिएका महम्मद हाल सुनसरीको इटहरी–५ बयरवना टोल स्थित बस्दै आएका छन् । शैलुन सञ्चालन गरेर आफ्नो पहिचान बनाई सकेका उनलाई टोल भरीका मानिसले ठाकुर भनेर नै बोलाउने गर्दछन् । अझ भनौ बयरबना टोलमा ठाकुर भनेपछि नचिन्ने मानिस सायदै कम होलान् । 


बुबा मुनिफा खातुन र आमा ममिद ओस्ताको कोखबाट जेठो सन्तानको रुपमा जन्मिएका उनी ३ वर्षको बाल्यकाल नबित्दै अपाङ्ग हुन पुगे । तीन दिदीबहिनी र तीन दाजुभाइको परिवारमा जेठो सन्तान भएकै कारण उनमा जिम्मेवारी समेत बढेको थिए । सानैमा रोग लागेर उपचारको क्रममा नसा सम्बन्धि समस्याले बाँया खुट्टा त्यसै खुम्चिन पुग्यो । तिन बर्षकै उमेरमा अपाङ्गग हुन पुगेका उनी लाठ्ठीको भरमा हिडडुल गर्छन् । 


५ वर्षको उमेर हुँदा उर्द भाषामा शिक्षण हुने मोदर्शा स्कुलमा अध्ययन गर्न थाले । त्यस अवधीमा ३० पारा ९किताब० अध्ययन गर्न पर्थ्यो । घरको आर्थिक अवस्था दयनीय भएपछि २२ पारा सम्म मात्र पढ्न पाए । किसानको छोरो महम्मदले प्रत्येक वर्ष १० केजी धान दिएर २ वर्ष टिउसन पनि अध्ययन गरे । 

मुस्लिम समुदायमा जन्मिएका उनले नेपाली र अंग्रेजी माधयमबाट शिक्षा लिने मौका कहिल्यै पाएनन् । अपाङ्ग भएपछि घरपरिवारबाट समेत अपहेलना सहिनु परेको उनी बताउछन् । टिउसन पढ्दा पढ्दै उनमा केही गर्न सक्छु भन्ने आशा पलायो ।  


नजिकै चोकमा आफ्ना भिनाजुले कपाल काटेर कमाई गरीरहेको देखे । भिनाजुसँग बसेर कपाल काट्न सिक्न थाले । भिनाजुले दैनिक खाजा खान दिएको २ रुपैयाँ भुड्की ९खुत्रुके० मा जम्मा गरेर स्कुल फि तिरे ।


हुन त उनको सपना शिक्षक बन्ने थियो । तर गरिबीका कारण न उनले पढ्न पाए, न त शिक्षक बन्न नै ।  


अपाङ्गलाई राज्यबाट प्रदान गरिने सेवा सुविधा प्राप्तिका लागि सबै सामु हारगुहार गरे । कयौं पटक सम्बन्धित निकायमा प्रस्ताव गर्दा पनि केही नभएपछि ब्याध्यताले कामको खोजीमा हिड्न पर्यो । वि।सं। २०५८ सालमा शेख अब्दुला सँगै कामको खोजीमा उनी भारतको बम्बाई गए । 


बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई श्रममा लगाउन त्यहाँको कानुनबाटै प्रतिबन्ध गरिएको छ । कानुनले नै उनलाई काम गर्न रोक लगाए पछि कतै पनि रोजगारी पाएनन् । अब उनको सपना सपनामै सिमित हुन पुग्यो । 


घर पर्किन पैसा नभएपछि त्यसै बरालिन पुगेका उनी छिमेकको एक साथी सँग भेट हुन पुगे । त्यही साथी सँग झोला बनाउने काम सुरु गरे । उनले ६ महिना खाना खान दिएर बिना ज्याला झोला बनाउने काम गरे । जीवन कष्टकर बन्दै गयो । अन्त्यमा साहुबाट एक जोर कपडा र २५ सय भारु लिएर नेपाल पर्किए । त्यो रकम पनि घर खर्च गर्दा गर्दैै सकियो । 


आफ्नै पौरखमा बाँच्न चाहने महम्मद बम्बईबाट नेपाल आएपछि पुनः बेरोजगारी हुन पुगे । केही विकल्प नभएपछि ठूलो बुवासँग कैची मागे । घर नजिकै भुटा चोकमा मुढा राखेर दारी, कपाल काट्न सुरु गरे । कमाइ राम्रै हुन थाल्यो । १५ दिनमा २ सय रुपैयाँ आम्दानी गरे । १५ दिनको आम्दानीले बजारबाट एउटा छुरा, कैची, काइयो र एउटा ऐना किने । बाँकी रहेको ३५ रुपैयाँ आमालाई दिए । 


बजारबाट ल्याएको सामान रातभर अर्काकै घरमा राखेर बिहान देखि साँझ सम्म आफू काम गर्थे । यसरी उनको परिवारमा रोजिरोटी चल्न थाल्यो । कान्छी बहिनी ६ महिनाको हुँदा आमाको निधन भयो । आमाको निधनले महमद कमाउनेसँगै घर हेर्नुपर्ने दोहोरो जिम्मेवारीमा परे । भाइबहिनीको पालनपोषणको दायित्व पनि अब महमदको काँधमा आयो ।


महम्मदको पूर्व यात्रा 

रौतहट घर भएका मुकेश महत्तोले विगत देखि नै इटहरीमा बिस्कुट फ्याक्ट्री सञ्चालन गर्दै आएका रहेछन् । मुकेशले उनलाई पनि इटहरी आउन आग्रह गरे । नयाँ ठाउँको परिवेश नबुझेको भएर उनले आफ्नो माइला भाइलाई पठाउने निर्णय गरे । कमाएर फिर्ता गर्ने गरि एक महिनाको व्यवस्थापन जिम्मा मुकेश महत्तोले गरिदिने सर्तमा आफ्नो पसलमा भएको एउटा ऐना र १ हजार रुपैयाँ खर्च दिएर उनले माइला भाइलाई इटहरी पठाए ।  


इटहरीमा दाजुकै पेशा सुरु गरेका महम्मदका माइला भाइले नेपाली भाषा नजानेका कारण एक महिना सम्म पनि काममा निरन्तरता दिन सकेनन् । भोजपुरी भाषा मात्र जान्ने माइला भाइले नेपाली भाषा नजानेका कारण समस्या भयो । एक महिनामै काम छाडे । उनी रौतहट पुगेर दाईलाई सबै कुरा सुनाए । अव्यवस्थित रुपमा छाडेको पसल सम्हाल्नकै लागि महमदले इटहरी आउने सोच बनाए । 


वि.सं. २०६८ सालमा इटहरी प्रवेश गरेका उनी हाल सम्म यहीको बासिन्दा बनेका छन् । इटहरी क्षेत्रको भूगोल, रहनसहन बुझेपछि उनले यही भविष्य देख्न थाले । मुकेश सँगै तीन वर्ष बसेर भाइले छाडेको शैलुन सञ्चालन गर्न सुरु गरे । महिनाको भाडा २ हजार तिनु पर्ने र दैनिक आम्दनी २ सय हुने त्यो समयमा आफू खानेकी भाडा तिर्ने दुवै समस्याले सताइ रहन्थ्यो । 


यसरी गुजारा चलाई रहेका उनी एक्कासी ठाउँ सर्ने निर्णय गरे । वि.सं. २०७१ सालबाट इटहरी–५ बयरवना टोल स्थित सिता खड्काको घरमा भएको एक सटर भाडामा लिएर ‘मदिना हेयर कटिङ्ग शैलुन’ निरन्तर सञ्चालन गरिरहेका छन् । २०७४ सालमा मेनु मुर्मुर सँग प्रेम विवाह गरेका उनी दुई सन्तानका बाबु समेत बनिसकेका छन् । हाल २५ सय भाडा तिरेर शैलुन सञ्चालन गरिरहेका उनको दैनिक आम्दानी मुस्किलले ८ सय हुन्छ । त्यही आम्दानीले घरभाडा र खाना खर्च जेनतेन चलिरहेको उनी बताउँछन् । 


दाँया खुट्टा र एक लाठ्ठीको भरमा जीवनयापन गरिरहेका उनले जहिल्यै जित्छु भन्ने सोच राखेका छन् । उनी भन्छन् “यसरी नै दैनिकी चलिरहेको छ । जीवन आधा बित्न लाग्यो तर सुख कस्तो हुन्छ भन्ने कहिल्यै महसुस भएको छैन ।” 


कहिले शैलुनको सामान टुटफुट हुने, कहिले बालबच्चा बिरामी पर्ने त कहिले खानपानको समस्या पर्ने गर्छ । यी समस्या एकै पटक परेको दिन धेरै पीडा बोध हुने गरेको महम्मद बताउँछन् । उनको बुझाइमा सीप कहिल्यै सानोतिनो हुँदैन । आफूले जानेको काम यहाँ नै गरे स्वरोजगार भइन्छ भन्ने उनको भनाइ छ ।