यूएई र साउदीबाट अलपत्र नेपाली श्रमिकको उद्धार

न्युजलय २५ माघ २०७८, मङ्गलबार ०२:४४ मा प्रकाशित

काठमाडौं । काठमाडौंको टोखामा रहेको ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा यूएई गई अलपत्र परेका नेपालीको उद्धार गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न चेतावनी दिएपछि त्यही म्यानपावरले आज आठ जनालाई उद्धार गरी नेपाल ल्याएको हो ।


यसरी नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र सङ्खुवासभाका सन्तोष चम्लागाई रहेका छन् । यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट सात लाख ५० हजार रुपैयाँका दरले रकम लिएर यूएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको मार्शल टोलीले पक्राउ समेत गरेको थियो ।


यसैबीच केही समयअघि साउदी अरेबियामा बिरामी परि अलपत्र परेका जाजरकोटका आइस रानाको साउदी अरबको जेद्धामा स्वास्थ्य उपचार गरी आज स्वदेश फर्काइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरबमा रहेको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका थिए । नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीको टोलीले उनको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गरेको थियो । 


रानासहित साउदी अरेबियामा अलपत्र परेका चार नेपालीलाई आज स्वदेश फिर्ता गरिएको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताए ।