बालुवा निकाल्ने क्रममा दुई मजदुर महिलाको मृत्यु

न्युजलय १० माघ २०७८, सोमबार ०३:२३ मा प्रकाशित

काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिका २ मा नहर निर्माणका लागि बालुवा निकाल्ने क्रममा दुई महिला मजदुरको मृत्यु भएको छ । गत शुक्रबार खानीबाट बालुवा निकाल्ने क्रममा च्यापिएर ३६ वर्षीया तारा लुहार र ३८ वर्षीया महना लुहारको ज्यान गएको उनीहरुका नातेदार रमेश लुहारले जानकारी दिए । 


अमर बोहराको अध्यक्षतामा रहेको उपभोक्ता समितिको निर्माणाधीन नहरका लागि बालुवा निकाल्ने क्रममा घटना भएको हो ।


तर, घटना भने लामो समयसम्म गुपचुप राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाका अनुसार चार दिन अघिको घटनाबारे प्रहरीलाई जानकारी दिइएको छैन । 


घटना गत शुक्रबार भए पनि सामाजिक सञ्जालमा विवरण आएपछि मात्र स्थानीय जनप्रतिनिधिले जानकारी पाएका हुन् ।


डिलाशैनी गाउँपालिकाका प्रवक्ता अक्कल बहादुर रानाले पालिकाबाट दुवै मृतकका परिवारलाई राहत प्रदान गरिने बताए ।