विराटनगर । चैत ६ गते मोरङको लेटाङमा भएको प्रहरी र गाउँलेबीच हिंसात्मक झडपमा ज्यान गुमाउने प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोलीबाट भएको पोस्टमार्टम रिपोर्ट देखिएको छ।
अहिलेसम्म उनको मृत्यु ‘घाँटीमा धारिलो हतियार प्रहारबाट भएको’ प्रहरीले बताउँदै आएको थियो। तर, पोस्टमार्टम रिपोर्टमा भने उनको मृत्यु गोली लागेर भएको उल्लेख गरिएको छ।
सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रमा उल्लेख भएको पोस्टमार्टम रिपोर्ट अनुसार हत्या गरिएकी महिला प्रहरीको धारिलो हतियार खुकुरी, लाठी, ढुङ्गा मुढा नभएर गोली लागेर हत्या भएको रिपोर्ट आएको हो।
विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फायर आम्र्ड इन्जुरी’ उल्लेख गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ। हत्या भएको महिला प्रहरीको शरीरबाट गोली पनि निकालिएको छ।
हिंसात्मक झडप हुँदा प्रहरीको तीन वटा हतियारबाट हवाई फायर भएको थियो। तर, विधी विज्ञान प्रयोगशालामा महिला प्रहरीलाई लागेको गोलीको परीक्षण गर्दा प्रहरीको गोलीसँग म्याच हुन नसकेको स्रोतको भनाइ छ। यसले गोली गाउँलेबाटै प्रहार भएको हुनसक्ने आशंका बढेको प्रहरी स्रोतले जनाएको छ।
महिला प्रहरीलाई गोली लागेर हत्या भएको गोली भेटिए पनि प्रहरीले हतियार भने फेला पारेको छैन।
प्रहरीले लेटाङ घटनामा ६३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
पक्राउ परेका १६ जना बालबालिका समेत रहेकाले जिल्ला सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै तीन वटा मुद्दा दायर गर्दैछ।
पक्राउ परेकामध्ये १ जना बालकलाई अदालतले अभिभावकको जिम्मामा लगाउने आदेश मंगलबार गरिसकेको छ।