फुजिसनको खेलकुद सप्ताह सुरु

न्युजलय ६ फाल्गुण २०८२, बुधबार ०३:१८ मा प्रकाशित

इटहरी । इटहरीस्थित फुजिसान सगरमाथा स्कुलले आफ्नो खेलकुद सप्ताहको उद्घाटन गरेको छ । राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य–सचिव केशवकुमार विष्टको प्रमुख आतिथ्यमा सप्ताह उद्घाटन गरिएको हो ।


उद्घाटन गर्दै विष्टले खेलकुदले बालबालिकाहरुको शारीरिक, मानसिक, सामाजिक विकास गर्नुका साथै देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने धारणा व्यक्त गरे ।


उद्घाटन समारोहमा नृत्य, विभिन्न कक्षाका विद्यार्थीहरूको आकर्षक ड्रिल प्रदर्शन तथा परेड प्रस्तुत गरिएको थियो । कार्यक्रममा खेलाडी असीम राईलाई सम्मान गरिएको थियो । उनी अन्डर–१६ साफ प्रतियोगिताका खेलाडी हुन् । 


कार्यक्रममा व्याडमिन्टन, फुटबल, भलिबल, क्रिकेट, कराँते, टेबल टेनिसलगायत विभिन्न विधाका नगर, जिल्ला तथा प्रदेशस्तरीय विभिन्न समितिका पदाधिकारीहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन डिल्लीराम निरौलाले गरेका थिए । 


सभापति लालबहादुर श्रेष्ठ थिए भने प्रधानाध्यापक राकेश श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । 


सप्ताहअन्तर्गत विभिन्न विधाका प्रतिस्पर्धाहरू सञ्चालन हुने आयोजकले जनाएको छ ।