टिकटक प्रतिबन्धविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

न्युजलय ४ मङ्सिर २०८०, सोमबार ०८:३७ मा प्रकाशित

 काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतले सोमबार(आज) ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एक इजलासले उक्त मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको हो ।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् । उक्त रिटमाथि आज न्यायाधीश चुडालको एक इजालसमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा शुक्रबार १० वटा रिट दर्ता भएका थिए । 

रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको थियो ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले टिकटक नचल्ने बनाएका छन् ।