इनरुवामा जेन्जी युवालाई वी फर चेन्जको करियर गाइडनेस

न्युजलय ११ असोज २०८३, आइतबार ०८:२९ मा प्रकाशित

इनरुवा । युवालाई आफ्नो क्षमता पहिचान गरी करियरको सही दिशा तय गर्न तथा लक्ष्य निर्धारणमा सहयोग पुर्‍याउने उद्देश्यले इनरुवामा करियर मार्गदर्शन कार्यक्रम सम्पन्न भएको छ ।  ‘वी फर चेन्ज’ अभियानले शनिबार इनरुवा वडा नम्बर ६ का जेन्जी युवालाई लक्षित गरी लेमन होटलमा सो कार्यक्रमको  आयोजना गरेको हो ।

 

अभियान्ता मौसम कोइरालाले सहभागी युवालाई करियर छनोट, लक्ष्य निर्धारण, क्षमता पहिचान तथा भविष्य निर्माणका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा साबिक मधेशाका सबै वडाबाट प्रतिनिधित्व गर्दै आएका ४२ जना नवयुवाहरूको सहभागिता रहेको थियो । 


कार्यक्रममा सहभागी युवाहरूले करियर निर्माणका विषयमा सही निर्णय लिन तथा आगामी दिनको लक्ष्य निर्धारण गर्न कार्यक्रम उपयोगी भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले आफ्नो रुचि, क्षमता र सम्भावनालाई पहिचान गर्दै भविष्यको बाटो तय गर्न कार्यक्रमले सहज बनाएको बताए ।


कार्यक्रममा सहभागी डा. दिवस कार्कीले युवाको करियर निर्माणका लागि कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको बताए । उनले करियर निर्माणका लागि प्रयासरत युवालाई यस्ता कार्यक्रमले ठूलो सहयोग पुर्‍याउने उल्लेख गर्दै ‘वी फर चेन्ज’ले युवालाई आफ्नो क्षमता पहिचान गर्न र भविष्य निर्माणका विषयमा निर्णय लिन सहज बनाउने प्रयास गरेको धारणा राखे ।


वी फर चेन्जका अभियान्ता लोकेश निरौलाले ‘वी फर चेन्ज’ फरक सोच र उद्देश्यका साथ अघि बढिरहेको अभियान भएको बताए । उनले अभियानले हरेक व्यक्तिलाई फरक ढंगले परिवर्तनको अनुभूति गराउने उद्देश्य राखेको उल्लेख गरे ।


निरौलाले अभियान कसैको विरोध गर्न वा केवल समस्या देखाउनका लागि नभएको स्पष्ट पार्दै समस्याको पहिचानसँगै त्यसको समाधान खोज्ने र युवाको सक्रिय सहभागितामार्फत इनरुवालाई सकारात्मक परिवर्तनको बाटोमा अघि बढाउने अभियान भएको बताए ।


उनले युवाको क्षमता, शिक्षा, करियर, व्यक्तित्व विकासलगायतका विषयमा निरन्तर कार्यक्रम सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तनको वातावरण निर्माण गर्ने बताए ।