काठमाडौं । शुभम् पावर लिमिटेडले १८ माघदेखि सर्वसाधारणलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा हेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपछि सर्वसाधारण्को लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्कासन गर्न लागेको हो। आयोजना प्रभावित स्थानीयले नकिनेको सेयर थप गरेर ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो ।
जसमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको थियो । यस्तै २९ हजार ३० कित्ता सेयर सामूहिक लगानी कोषलाई र ११ हजार ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा २२ माघसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने अवधि ३ फागुनसम्म थप हुनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका–९ मा १ साउन २०६८ देखि ९९० किलोवाट क्षमताको पिलुवा खोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।