विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार बुढीगंगा–१ स्थित हिमगिरी साबुन फ्याक्ट्री अगाडि भएको हो।
नेमुवाबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०२–०४४ प ८४४ नम्बरको मोटरसाइकलले सडक क्रस गर्दै गरेको एक पैदल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा परेका अन्दाजी २२–२३ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको बताइएको छ। उनको नाम र ठेगाना खुल्न सकेको छैन।
मोटरसाइकल चालक ग्रामथान गाउँपालिका–४ का १८ वर्षीय अक्षत माझीको टाउको, हात, खुट्टा र अनुहारमा चोट लागेको छ। उनको अवस्था भने सामान्य रहेको जनाइएको छ।
दुवै घाइतेलाई उपचारका लागि विराट टिचिङ अस्पताल गंगाचोक पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।