विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि कोशी प्रदेशका १ सय ५९ जना अझै सम्पर्कविहीन छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार रसुवाको बाढीमा परेर सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै सोलुखुम्बुका ४२ जना छन् । त्यसपछि ओखलढुंगाका २५, मोरङका १७, सुनसरी र उदयपुरका १६–१६ तथा झापाका १३ जना छन् ।
त्यस्तै खोटाङका १०, इलामका ९, संखुवासभा र भोजपुरका ३–३, ताप्लेजुङ र धनकुटाका २–२ तथा पाँचथरका १ जना सम्पर्कविहीन रहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा रहेका कोशीका ५ जना उद्धारपछि परिवारको सम्पर्कमा आएका छन् भने २७ जनाको उपचार भइरहेको छ । इलामका एक जना व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाढीपछि सम्पर्कविहीन हुनेमा रसुवामा रोजगारी, पर्यटन, ट्रेकिङ तथा जलविद्युत् आयोजनामा कार्यरत व्यक्तिहरू छन् ।