काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ केन्द्रीय महाधिवेशन आजदेखि पोखरामा हुँदै छ।
देशभरका झन्डै १२ सय पत्रकारहरूको उपस्थितिमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको छ भने उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन्।
‘समृद्धिका लागि सञ्चार कर्म : प्रेस चौतारीको मूल मर्म’ भन्ने नाराका साथ हुन लागेको महाधिवेशनको तयारी पुरा भएको मूल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले बताए। नयाँ नेतृत्व निर्माण समेत चयन हुने महाधिवेशन शुक्रबार र शनिबार पोखरा सभागृहमा हुनेछ।
महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरू बिहीबारदेखि नै पोखरा भित्रिइरहेका छन्। महाधिवेशनमा भौगोलिक सात प्रदेश र एशोसिएट, प्रतिष्ठान र बागमती गरी सङ्गठनका १० वटै क्षेत्रबाट छानिएका १२ सय प्रतिनिधिले महाधिवेशनमा भाग लिन लागेका हुन्।
महाधिवेशनमा भाग लिन केन्द्रीय समितिका सबै सदस्यहरू पोखरा आइपुगेका छन्। अहिलेको केन्द्रीय समितिको अन्तिम बैठक समेत पनि शुक्रबार नै पोखरामा बस्दैछ।
प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीका अनुसार यो महाधिवेशनलाई पोखराका गौरवको रूपमा लिइएको छ। महाधिवेशनलाई गौरवमय र सफल बनाउन आवास, खाद्य व्यवस्थापन, स्वयंसेवक, मञ्च व्यवस्थापन, अतिथि सत्कार लगायतका उपसमितिहरूले आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको अध्यक्ष गिरीले बताए।
चौतारीको यो महाधिवेशन नीति र नेतृत्व निर्माणका हिसाबले महत्त्वपूर्ण हुने छ।
महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न क्षेत्रमा योगदान पुराएका ११ जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ।
प्रेस चौतारीको स्थापना २०५५ सालमा भएको हो।