इटहरी गोल्डकपः कस्ले जित्ला फाइनल खेल ?

न्युजलय १७ चैत २०८०, शनिवार १२:३५ मा प्रकाशित

इटहरी । १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कपको उपाधिको लागि शनिवार(आज) चर्च ब्वाइज युनाइटेड र विभागीय टिम त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुदैछ ।

इटहरी रंगशालामा आज साँझ साढे ६ बजे हुने खेलमा दुवै टिम सफलता हात पार्दै उपाधि जित्ने मुडमा छन् ।

फाइनल खेलअघि शुक्रवार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक तथा क्याप्टेनले उपाधि जित्ने सम्भावना ५०–५० प्रतिशत रहेको बताए ।

दुवै टिम सन्तुलित र उत्कृष्ट रहेकाले सम्भावना बराबरी  रहेको बताए । आर्मीका प्रशिक्षक मेघराज केसीले पछिल्लो समय उच्च लयमा रहेको चर्च ब्वाइज विरुद्धको खेल चुनौतीपूर्ण रहेको बताए ।

क्याप्टेन नवयुग श्रेष्ठले इटहरी गोल्ड कपको १२ औँ संस्करणमा फाइनल पुगेर पनि उपबिजेतामै सीमित रहनुपरेको पिडालाई भुलाउन पनि जीत हात पार्ने बताए । 

चर्च ब्वाइजका सहायक प्रशिक्षक रुबेन राईले आर्मी बलियो टिम भएकाले फाइनल अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने बताए । 

चर्च ब्वाइज आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो भने आर्मीले साबिक विजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी सुट आउटमा २–१ गोलको जीत हात पार्दै चर्च ब्वाइजसंगको फाइनल भिडन्त पक्का गरेको हो । क्वाटर फाइनलमा आर्मीले बिर्तामोड युनाइटेडलाई रोकेको थियो । चर्च ब्वाइजले न्यु रोड टिम एनआरटीलाई पराजित गरेको थियो । 

फाइनल खेलको विजेताले नगद १० लाख रुपैयाँ हात पार्नेछ भने उपबिजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनुपर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार रुपैयाँ पाउने छन् ।