धरान । प्रतिनिधि सभा सदस्य हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईले कुटपिट गरी घरबाट निकाला गरेको दाबी गर्दै दायर गरेको अंशचलन मुद्दामा अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ ।
फैसलामा वादी–प्रतिवादीबीच यसअघि कानूनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको भन्दै पाँच अंशियार कायम गरी सम्पत्तिमा अंश छुट्याउनुपर्ने ठहर गरिएको छ । उपलब्ध अदालतको कागजातमा प्रतिवादीको नाम हर्कराज राई उल्लेख छ ।
दिलमायाले २०७३ असोज ६ गते दायर गरेको फिरादपत्रमा हर्कराजसँग २०५४ पुस ८ गते प्रेम विवाह भएको र उनीहरूबाट १७ वर्षकी छोरी एलिसा राई रहेको उल्लेख गरेकी छन्। आफूहरूबीच कानूनबमोजिम अंशबण्डा नभएको र अंशबण्डा गर्नुपर्ने सम्पत्ति विपक्षीहरूकै नाममा रहेको भन्दै उनले अंश माग गरेकी थिइन्।
फिरादपत्रमा दिलमायाले वैवाहिक जीवन सुरु भएदेखि नै पति हर्कराजसँग झै–झगडा र कुटपिट हुने गरेको तथा हर्कराजले परस्त्रीसँग नाजायज सम्बन्ध राखेको आरोप लगाएकी छन्। पटक–पटक इलाका प्रहरी कार्यालयमा उजुरी भए पनि छोरीको अनुहार हेरेर पति–पत्नी मिलेर बसेको उनको दाबी छ।
तर आफू विदेशबाट फर्किएपछि पनि हर्क साम्पाङले त्यस्तै सम्बन्ध कायम राखेको र उल्टै आफूलाई कुटपिट गरी ज्यानै जाने अवस्था सिर्जना गरेको दिलमायाको फिरादमा उल्लेख छ। पुनः प्रहरीमा रिपोर्ट गरेपछि हर्कराजले कुटपिट गरी घरबाट निकाला गरेको उनको दाबी थियो।