इटहरी । देशमा कोरोना संक्रमणको तेस्रो लहरले खतराको घण्टी बजाउँदा पनि सुनसरीका सिमानाकामा निर्वाध आवत जावत रोकिएको छैन । करिब ६२ किलोमिटर क्षेत्र भारतसँग खुल्ला सिमा जोडिएको सुनसरीमा रहेका १५ वटा नाकाहरुमा सुरक्षा संयन्त्रको उपस्थिती र निगरानी फितलो छ ।
तीमध्ये कुनै पनि नाकामा अहिले स्वास्थ्य सावधानीका कुनै उपाय अवलम्बन गरेको पाइएको छैन । भारतको मिरगञ्ज जिल्लामा रहेका पुल भत्किएर मर्मत सम्भारको काम चल्दा मोरङको रानी भन्सार नाकाबाट आउने मालबाहक सवारी साधनसमेत अहिले सुनसरी ‘डाइभर्ट’ भएका छन् । जसले गर्दा भारतीयहरुको सुनसरी प्रवेश थप सहज बनेको छ ।
उता भारतले भने आफ्नो भूभाग प्रवेशमा कडाइ गरेको छ । रानी नाकामा नेपाल भारत आवत जावतका साथै भारतीय बजारमा सामान किन्न जाने नेपालीका लागि समेत खोप कार्ड अनिर्वाय गरेको छ । तर नेपालमा भने भारतीयहरुलाई मास्क अनिवार्य गर्ने कार्यमा पनि ध्यान दिइएको छैन । यहाँसम्मकी स्वयम भन्सारका कर्मचारी समेत विना मास्क बसिरहेका छन् । यसरी सुनसरीका सिमा नाकामा भएको लापरबाहीले कोरोनाको जोखिम झन् बढ्दै गएको नाकामा भेटिनेहरु बताउँछन् ।
‘जोखिम त बढ्छ तर आम पब्लीकले के गर्न सक्छ, त्यो त सरकारले गर्ने हो नि,’ सुनसरीको कोशी गाउँपालिकाबाट भारतीय बजारमा सामान किन्न हिँडेका दिपेन्द्रकुमार पञ्जीयारले भने, ‘यहाँ चेक हुनुपर्ने आवश्यकता त छ तर गरिरहेको छैन । कार्डहरु चेक गरेको छैन । मानिसहरु त्यतिकै आवत् जावत् गरिरहेका छन् । यसले जोखिम त बढाइ हाल्छ नि ।’
उनि मात्रै होइन यहाँ आवत् जावत् गर्ने अधिकांशको भनाइ उस्तै छ । परिक्षणको कुनै व्यवस्था भए आफूहरु पनि सुरक्षित हुने उनिहरुको विश्वास छ । ‘हेल्थ डेस्क’ नराख्दा सिमानाकाबाट दुबै देशमा कोरोना संक्रमण फैलने जोखिम बढ्ने उनिहरुको भनाइ छ । ‘मैले दुबै डोज खोप लगाएको छु,’ भारतबाट नेपाल आउँदै गरेका अमरनाथ झाले भने, ‘तर सबैले खोप लगाएको हुँदैन । कसलाई कोरोना लागेको छ छैन भनेर कसरी थाहा हुन्छ ? सुरक्षाको हिसाबले यहाँ नेपालले स्वास्थ्यकर्मी राख्नु पर्ने देखिन्छ ।’
गत वर्षको कोरोना कहरमा सुनसरीको भन्टाबारी नाकालाई मात्र खुला राखि अन्य नाका बन्द गरिएको थियो । नाकाबाट कोरोना जोखिम कम गर्न कोशी गाउँपालिकाले त्यहाँ ‘हेल्थ डेस्क’ राखेर आवत् जावतमा पनि कडाइ गरेको थियो । तर, अहिले यी सबै प्रक्रिया कथनीमा नै सिमित छ ।
्यता जिल्ला प्रशासन कार्यलयले भने सिमा नाकामा कडाइ गर्ने सम्बन्धमा छलफल भएको र तयारीमा लागेको जनाएको छ । ‘मोटरेवल बाटो भएको ठाउँमा एन्टीजेन गर्ने, सबैको अभिलेख राख्ने, फिबर टेस्ट गर्ने, मास्क उपलब्ध गराउने र खोपको पनि त्यहिँ नेपाली नागरिकहरुलाई उपलब्धता गराउने तयारी गर्दै छौँ’, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘नाकामा परिक्षण गर्दा कुनै लक्षणदेखिमा उसको परिक्षण गर्ने र त्यहाँबाट होल्डिङ सेन्टर र आइसोलेसनमा लाने, यसरी हामीले यसलाई व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।’