काठमाडौं । कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्तले नयाँ नेपाली फिल्म ‘शमशेर’ मार्फत अभिनयमा डेब्यू गर्ने भएका छन् । यो फिल्ममा पन्तसंगै अभिनेता सुमन गौतम पनि अभिनयका लागि अनुबन्धित भएका छन् ।
यो फिल्ममा हिमेश र सुमनको भूमिकाका बारेमा भने केही पनि बताइएको छैन । फिल्मको सार्वजनिक पोस्टरमा उनीहरुलाई निकै फरक चरित्रमा प्रस्तुत गर्न लागिएको बुझ्न सकिन्छ ।
यसअघि नै यो फिल्मका लागि अभिनेता मनिष राउत र गौरव पहारी अनुबन्धित भैसकेका छन् ।
अहिले यो फिल्मका लागि मुख्य अभिनेत्रीको खोजी भैरहेको निर्माण टिमले जनाएको छ ।
एक्सन जनरामा निर्माण गरिने यो फिल्ममा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको व्यानरको लगानी रहनेछ ।
यो फिल्मको छायांकन काठमाडौं, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिने छ ।
सीबड्रस इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने यो फिल्ममा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारले पनि अभिनय गर्दैछन् ।