धरान । बराह ग्रुप अन्तर्गतको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चैत २२ गतेदेखि वचतकर्ताहरुलाई नगद भुक्तानी गर्ने प्रतिवद्धता जनाउदै चैत १ गते एक सुचना जारी गरेको थियो ।
सोही सुचनाको आधारमा आज धरान –८ स्थित बराह कम्प्लेक्समा नगद फिर्ता लिन वचतकर्ताहरु बिहानैदेखि जम्मा भए । तर, प्रतिवद्धता वमोजिम नगद भुक्तानी शुरु नभएको भन्दै वचतकर्ताहरुले गुनासो गरेका छन् ।
पैसा फिर्ता लिन बिहानैदेखि वचतकर्ताहरुको घुँइचो भएपछि अप्रिय घटना हुन नदिन सुरक्षाको लागि प्रहरीसमेत परिचालन गरिएको छ । वचतकर्ताहरुले खातामा भएको आफ्नो वचत रकम फिर्ता पाउनुपर्ने माग गरिरहेका छन् ।
पछिल्लो समय बराह सहकारी आर्थिक संकटसँग जुधिरहेको छ । धराने जनताको विश्वास जितेको बराह ग्रुपको एक अंग सहकारी आर्थिक संकटमा पर्दा ठुलो असर पर्ने अनुमान गरिएको छ । धरानका धेरै मानिसहरुले बराहमा वचत गरेका छन् ।
बराहका सञ्चालकहरुले वचतकर्ताहरुलाई विश्वास गर्न आग्रह गर्दै विस्तारै समस्या समाधान हुने आश्वासन दिइरहेका छन् ।