काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर ९ का निर्वाचित वडाध्यक्ष भुपालसिंह राई र वडा सदस्य सोमकुमार तामाङलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
पार्टीको जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक असिम राईले विज्ञप्ती जारी गरेर वडाध्यक्ष राई र वडा सदस्य तामाङलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जानकारी गराएका हुन् ।
जनपक्षीय र पार्टी पद्धतिमा रहेर काम गर्न पटक–पटक निर्देशन दिएपनि पार्टीको आचारण र जनहित विपरितका कार्यहरु प्रदर्शन गरेको, मुलुकका प्रतिगमनकारी शक्तिहरुसँग अनावश्यक साँठगाँठ गरी पार्टीलाई नै बद्नाम गराउने गरी अगाडि बढेकाले वडाध्यक्ष राई र तामाङलाई कारबाही गरिएको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष समेत रहेका असिम राईले जानकारी गराएका छन् ।