‘वडाध्यक्षले घुस मागेर हैरान पारेपछि अख्तियार गुहारेँ’ : व्यवशायी उप्रेती

न्युजलय ४ पुस २०८०, बुधबार ०८:५७ मा प्रकाशित

बारा । वडाध्यक्ष ताराबहादुर कार्कीले बारम्बार घुस मागेर हैरान बनाएपछि अख्तियार गुहारेको बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का व्यवशायीले बताएका छन् । 


सोमबार ५ लाख घुससहित पक्राउ परेका वडाध्यक्ष कार्कीले घर बाटो सिफारिस गरिदिने प्रयोजनका लागि स्थानीय व्यवशायी राजन उप्रेतीसँग घुस मागेका थिए । उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाबाट खटिएको टोलीले उनलाई रंगेहात समातेको थियो ।


पीडित उप्रेतीले वडाध्यक्षले आफूबाट पटक पटक गरेर १४ लाख रुपैयाँ बुझिसकेको आरोप लगाएका छन् । स्थानीय घरजग्गा कारोबारी उप्रेतीले काठमाडौँका राणा परिवारसँग जग्गा खरिद गर्ने क्रममा घर बाटो सिफारिसका लागि वडामा निवेदन दिएका थिए । सो क्रममा वडाध्यक्ष कार्कीलाई ३ लाख ५ लाख र ६ लाखसहित कुल १४ लाख रुपैयाँ बुझाएको  र अहिले सोही जग्गा बिक्री गर्ने क्रममा सिफारिस माग्दा वडाध्यक्षले पुनः आफूसँग १० लाख रुपैयाँ मागेको उप्रेतीको भनाइ छ । 


‘रकम मागेर हैरान पारेपछि बाध्य भएर अख्तियार गुहारेँ,’ उनले भने, ‘थोरै थोरै पैसा त दिइरहेको थिएँ, एकैपटक धेरै मागेपछि मैले सहनै सकिनँ ।’ उनले उपमेयर तथा सांसदहरुलाईसमेत घुस मागेको विषयमा गुनासो गर्दा सुनुवाइ नभएको बताए ।


पक्राउ परेका वडाध्यक्ष र्काीले मन्दिर निमार्णका लागि रकम लिएको दाबी गरेका थिए । तर, केरकारका क्रममा उनले घुस नै लिएको खुलेको बताइएको छ ।