काठमाडौँ । सर्वसाधारणका लागि बुधबारदेखि सगरमाथा जलविद्युत् कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।
अंकित मूल्य १ सयका दरले कम्पनीको कुल ३५ लाख ८१ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला भएको हो । यसअघि कम्पनीले वैदेशिक रोजगारमा रहेका तथा आयोजना प्रभावितलाई आईपीओ बिक्री गरिसकेको छ ।
एक सूचना सार्वजनिक गर्दै बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ खुला भएको जानकारी दिएको हो । कम्पनीको आईपीओमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीले ९.६ मेगावाटको सुपरमाई ए जलविद्युत् आयोजना निर्माण गरेको छ । आयोजनाको विद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोडिसकिएको कम्पनीले जनाएको छ ।