उदयपुरमा छिमेकी हत्याको आरोप लागेका मगर १७ वर्षपछि साउदीबाट पक्राउ

न्युजलय २ माघ २०७८, आइतबार १२:३५ मा प्रकाशित

उदयपुर । छिमेकीको हत्या गरी फरार रहेका उदयपुरको बेलका ६ का गोविन्द मगर साउदीअरबबाट पक्राउ परेका छन् । 

१७ वर्ष अघि २०६१ साल मंसिर १३ गते राति ८ बजे स्थानीय मानबहादुर तामाङको हत्या गरी वैदेशिक रोजगारका लागि साउदीअरब पुगेका मगरलाई त्यहाँको प्रहरीको सहयोगमा पक्राउ गरेको हो । 

प्रहरी प्रधान कार्यालयले २०७७ माघ २७ गते मगरविरुद्ध इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरेको थियो । सोही आधारमा साउदी प्रहरीको सहयोगमा नेपालबाट गएको प्रहरी टोलीले साउदी पुगेर पुस २६ गते पक्राउ गरी मगरलाई नेपाल ल्याएको हो । 

मानबहादुरकी छोरीको विवाह हुने थाहा पाएपछि उनको प्रेमीसहित त्यहाँ पुगेका गोविन्दले भनाभनकै क्रममा मानबहादुरलाई खुकुरी प्रहार गरेका थिए । उपचारको क्रममा उनको मृत्यु भएको थियो ।