कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च शतर्कता

न्युजलय १९ असार २०८१, बुधबार ०६:२४ मा प्रकाशित

सुनसरी । सप्तकोशी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ । 

बाढी पूर्वतयारीलाई लिएर कोशी ब्यारेजमा दुवै जिल्लाका सुरक्षा निकायको उपस्थितिमा आकस्मिक बैठक समेत डाकिएको छ । बैठकले नदीमा आउनसक्ने बाढीको आँकलन गर्दै सूचना संप्रेषण र विपद् पूर्वतयारीको कार्यलाई तदारुकताका साथ बढाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बाढीसँगै कोशीमा डुङ्गा चलाउन र माछा मार्न समेत प्रशासनले रोक लगाएको जानकारी दिए । बैठकले पानीको बहावसँगै आवश्यकताअनुसार ब्यारेजका ढोका खोल्न संयुक्त पहल गर्ने निर्णय समेत गरेको बताएका छन् ।

सप्तकोशीको जलस्तर बढ्दा पछिल्ला केही वर्ष यता ब्यारेजका ५६ वटै ढोका खोलिँदै आइएको छ । भारतीय पक्षको नियन्त्रणमा रहेको ब्यारेजका ढोका खोल्न नेपाली पक्षले भारतसँग आग्रह गर्नुपर्ने हुन्छ । 

भारतीय पक्षले भने जलस्तरको मापनका आधारमा ब्यारेजका ढोका खोल्ने गर्छ । ढोका खोल्न ढिला हुँदा वर्षेनी नेपाली भूभाग डुबानमा पर्ने गरेको छ ।