काठमाडौँ । काठमाडौंबाट साउन १७ गतेको उडानमा गएका १५ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि चीनले काठमाडौंबाट कुन्मिङका लागि हुने हिमालय एयरलायन्सका चारवटा उडानमा रोक लगाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन १७ गतेको उडानमा नेपालबाट गएका यात्रुमध्ये ९ नेपाली विद्यार्थी र ६ चिनियाँ नागरिकको विमानस्थलमै भएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि सिभिल एभिएसन अथोरिटी अफ चीनले भदौ महिनाको ७, १४, २१ र २८ गतेका उडानमा रोक लगाएको हो ।
यति एयरलायन्ससँगको सहकार्यमा चिनियाँ लगानीमा नेपालमा स्थापना भएको हिमालय एयरलायन्सलाई चीनले एक महिनाअघि मात्रै सातामा एक दिन मंगलबार काठमाडौं–कुन्मिङ उडान अनुमति दिएको थियो ।