जनकपुरधाम । सिराहामा एसइई परीक्षामा अमर्यादित गतिविधि गर्ने ३० जना परीक्षार्थी निष्कासित भएका छन्।
तीन वटा परीक्षा केन्द्रमा मंगलबार विज्ञान विषयको परीक्षा अनुमगन गर्न पुगेका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी नेतृत्वको टोलीले अमर्यादित गतिविधि गरेको भेटेपछि उनीहरूलाई निष्कासन गरेको हो।
अनुगमन टोलीले अमर्यादित गतिविधिमा संलग्न चार जना निरीक्षक समेतलाई परीक्षाबाट निष्कासन गरेको सिराहाका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए।
उनका अनुसार मोहन माध्यमिक विद्यालय मिर्चैयाबाट १७, बाजु माध्यमिक विद्यालय फुलवरिया मिर्चैयाबाट ७, माध्यमिक विद्यालय कसहा र माध्यमिक विद्यालय चोहर्वाबाट ३(३ जना परीक्षार्थीलाई निष्कासन गरेको हो।
निष्कासित गरिएका सबै विद्यार्थी निजी विद्यालयका हुन्।
स्रोतका अनुसार निजी विद्यालयले विद्यार्थीबाट रकम असुलेर परीक्षामा चिट चोर्ने वातावरण मिलाएका हुन्।
अनुशासित भएर अर्को परीक्षामा सहभागी हुन ती विद्यार्थीहरूलाई भनिएको छ।
प्रहरी उपरीक्षक तिमिल्सिनाका अनुसार शैक्षिक सुधारका निम्ति अनुगमन समितिले जिल्लाका धेरैजसो परीक्षा केन्द्रमा अनुगमनलाई तीव्रता दिएको छ।