विराटनगर । मोरङको लेटाङमा जिल्ला प्रशासनले लगाएको कर्फ्यू बिहीबार बिहानदेखि हटाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार सूचना जारी गर्दै लेटाङको चार किल्ला सीमानाभित्र जारी गरिएको अनिश्चितकालीन कर्फ्यू बिहीबार बिहान ६ बजेदेखि हट्ने जनाएको हो ।
स्थानीय विद्यालयका एक शिक्षकले बालिका विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आइतबार हिंसा भड्कदा लेटाङमा एक प्रहरीको मृत्यु भएपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यू जारी गरेको थियो ।
यसअघि स्थानीय प्रशासन ऐन् २०२८ को दफा ६ को ‘क’ बमोजिम चैत ९ गते बुधबारदेखि अर्को आदेश नभएसम्म बिहान १० बजेदेखि दिनको ४ बजेसम्म र बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी राख्ने निर्णय भएको थियो ।