उर्लाबारी । मोरंगको उर्लाबारीमा पाँच दिने उद्घोषण तथा पत्रकारिता तथा नेतृत्व विकास तालिम गरिएको छ । नगरपालिकाको सहयोगमा नेप्ली मिडिया प्रालिले तालिम गरेको हो ।
महिला तथा युवाहरुलाई पत्रकारिता, उद्घोषण तथा कार्यक्रम सञ्चालनको विषयमा जानकारी दिन आयोजना गरिएको तालिममा विभिन्न वडाका ३० जनाभन्दा बढीको सहभागिता थियो । तालिममा हिमाल दाहाल, रुपा बुढाथोकी, लीलाराज भट्टराई र उमाकान्त खनालले सहजिकरण गरेका थिए ।
तालिममा पुगेर उर्लाबारीका मेयर खड्गबहादुर फागोले समेत सहभागिहरुलाई शुभकामना दिएका थिए । उनले सञ्चार तथा व्यक्तित्व विकासका क्षेत्रमा नगरपालिकाले विभिन्न कामहरु गरेको बताउँदै आगामी दिनमा पनि नगरवासीको व्यक्तिगत विकासलाई प्राथमिकता दिने बताए । उनले विकासमा राजनीति हावी भएको कारण पाँच वर्षको अवधिमा आफूले सोचेजस्तो काम गर्न भने नपाएको बताउँदै नगरपालिकाको गाडी फिर्ता तथा दुई महिनाको तलब नलिने निर्णय गरेको जानकारी दिएका थिए ।
यस्तै वडा सदस्य भीष्म बुढाथोकीले तालिमले नयाँ नेतृत्व निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले युवा तथा महिलाहरुको विकासले नै नगरको विकासको ढोका खोल्ने धारणा व्यक्त गरे ।
महिलाहरुले तालिम सञ्चार क्षेत्रका साथै कार्यक्रम सञ्चालनका विभिन्न विषयलाई बुझ्न उपयोगि भएको प्रतिक्रिया दिएको कार्यक्रम संयोजक निशा धितालले बताइन् । नेप्ली मिडिया प्रालिले प्रदेश १ का विभिन्न ठाउँहरुमा पुगेर महिला, बालबालिका, युवालगायत विभिन्न पक्षलाई समेटेर कार्यक्रमहरु गर्दै आएको छ भने स्तरीय वृत्तचित्रसमेत निर्माण गर्ने काम गरिरहेको नेप्लीका निर्देशक हिमाल दाहालले जानकारी दिए ।