धरान । सुनसरीको धरान–१८ बुद्धचोकस्थित एक होटलको कोठामा महिलाको शव फेला परेको छ ।
न्यू कान्तिपूर होटल एन्ड गेस्ट हाउसको कोठामा महिलाको शव फेला परेको हो । मंगलबार (आज) बिहान कोठा सफा गर्न गएका बेला होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
होटल सञ्चालकका अनुसार दुई दिनदेखि ती महिलासँगै एक जना पुरुष होटलको १०९ नम्बरको कोठा बुक गरेर बसेका थिए । बिहान सरसफाइ गर्ने क्रममा ढोकाको चुकुल नलगाएको देखेर कोठमा छिरेका कर्मचारीहरूले बेडमा सुतेकै अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सोमबार बेलुकासम्म महिलासँगै एक पुरुष पनि सँगै बसे पनि बिहान भने ती पुरुष थिएनन् । फरार रहेका ती पुरुष र मृतक महिलाबीचको सम्बन्ध खुल्न सकेको छैन ।
धरानस्थित ईलाका प्रहरी कार्यालयका अनुसार महिलाको साथबाट पाँचथरको मिक्लाजुङ ठेगाना रहेको सुमित्रा तामाङ नामको एक नागरिकता फेला परेको छ ।
प्रहरीले फरार पुरुषको खोजी र अनुसन्धान गरिरहेको छ ।महिलाको अनुहारमा चोटसमेत देखिएकाले हत्या हुन सक्ने आशंका प्रहरीले गरेको छ ।