‘स्वास्थ्य बीमा कार्यक्रम’ बन्द हुँदा वीपीमा ७० प्रतिशत विरामी कम हुने

शंकर खत्री १० चैत २०७८, बिहिबार ०४:२२ मा प्रकाशित

इटहरी । आगामी चैत्र १५ गतेदेखि धरानस्थिति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘स्वास्थ्य बीमा कार्यक्रम’ बन्द गर्ने जनाएको छ । 

बुधबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले जारी गरेको विज्ञप्तीमा अब ‘स्वास्थ्य बीमा कार्यक्रम’ को सेवा नदिने जानकारी गराइएको हो । नेपाल सरकारबाट सञ्चालित ‘स्वास्थ्य बीमा कार्यक्रम’ बापतको रकम नपाउँदा समस्या उत्पान्न भएको प्रतिष्ठानको भनाइ छ ।

 ‘स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत स्वास्थ्य बीमा बोर्डले भूक्तानी गनुपर्ने रकम नदिएका कारण कार्यक्रम नै बन्द गर्नुपर्ने अवस्था आएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुणामणी पोखरेलले जानकारी दिएका छन् ।

प्रतिष्ठानमा उपचार गराउन आउने मध्ये ७० प्रतिशत् विरामी स्वास्थ्य बीमा कार्यक्रममार्फत नै आउने गरेका सह–प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।

यहि आधारलाई हेर्ने हो भने अव प्रतिष्ठानमा विरामीको चाप कम हुने देखिएको छ । चालु आर्थिक बर्षको गत साउनदेखि माघ मसान्तसम्म मात्र प्रतिष्ठानमा ६ हजार ५३८ जना विमितहरुले सेवा लिएको तथ्यांक रहेको छ । 

आगामी  २०७८ चैत्र १४ गतेसम्म पनि स्वास्थ्य बीमा बोर्डमा प्रतिष्ठानले दावी गरेको बीमा बापतको रकम शोधभर्ना नभए स्वास्थ्य बीमा कार्यक्रम नै बन्द गर्ने प्रतिष्ठानले बताएको छ ।

 बीमा कार्यक्रम बन्द हुँदा विरामीको ‘फ्लो’ मात्रै कम हुने होइन प्रतिष्ठानको आयमा पनि भारी ह्रास आउने भएको छ । प्रतिष्ठानको आयमा आधा भन्दा बढी योगनदान ‘स्वास्थ्य बीमा कार्यक्रम’को नै छ । अब यो आय शून्य हुँदा प्रतिष्ठानको आयमा आधा कम हुने छ ।

 अहिले प्रतिष्ठानले दाबी गरेको रकम बीमा बोर्डले शोधभर्ना नगर्दा यहाँको आय आधा कम भएको छ । जसले गर्दा प्रतिष्ठान दैनिक सञ्चालनमा नै समस्या देखा पर्न थालेको छ । सोहि कारण उपकुलपति ज्ञानेन्द्र गिरीमार्फत् स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई भुक्तानीका लागि मिति २०७८ फाल्गुण १५ गते लिखित रूपमै पत्राचार गरी रकम भुक्तानीको लागि अनुरोध गरिएको थियो ।

विरामीका सहजताका लागि प्रतिष्ठानले २०७४ असार १ गतेबाट प्रतिष्ठानमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गर्दै आएको थियो । बीमा कार्यक्रम सञ्चालन बापत शोधभर्नाका लागि बिमा बोर्डको दररेट अनुसार नै दाबी गरी भुक्तानी लिने प्रक्रिया अनुसार भुक्तानी प्रतिष्ठानले पाउँदै आएको थियो ।

तर, गत कात्तिक २७, २८ गतेदेखि भने प्रतिष्ठानले दाबी गरेको रकम मध्ये २६ करोड भन्दा बढी रकम बीमा बोर्डले भ्यालुएसन नगरिदिँदा भुक्तानीको प्रक्रिया नै अगाडि बढ्न नसकेको प्रतिष्ठानले जानकारी दिएको छ ।