काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो पुस १५ गतेभित्र प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको संघको बोर्ड बैठकले वार्षिक साधारणसभा पुस १४ र १५ गते धनगढीमा आयोजना गर्ने निर्णय गरेको छ । उक्त साधारणसभामा सचिव पदका लागि निर्वाचन हुने सम्भावना छ ।
क्यानका निर्वाचित सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजाबाबु श्रेष्ठले राजीनामा दिएपछि उक्त पद रिक्त छ । अहिले प्रशान्तविक्रम मल्लले कार्यवाहक सचिवका रूपमा काम गरिरहेका छन् ।
त्यस्तै, क्यानले विधानानुसार चारवर्षे कार्यकाल समाप्त भएका र कार्यकाल सकिन लागेका जिल्ला क्रिकेट संघहरूको जिल्ला अधिवेशन आउँदो माघ ७ गतेभित्र सम्पन्न गर्न सम्बन्धित जिल्ला संघहरूलाई निर्देशन दिएको छ ।
क्यानले वर्तमान कार्यसमितिको कार्यकाल सकिन लागेको बेला बल्ल आर्थिक कार्यविधि परित गरेको छ । त्यस्तै, मुख्य प्रशिक्षक नियुक्त गर्नका लागि कार्यवाहक सचिव मल्लको नेतृत्वमा कोषाध्यक्ष रोशकुमार सिंह, महाप्रबन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र एक जना आईसीसी प्रतिनिधि रहने गरी पाँच सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरेको छ ।
क्यानले १५ जना प्रशिक्षकको अन्तर्वार्ता गर्ने निर्णय गरेको कोषाध्यक्ष सिंहले जनाएका छन् ।