बागलुङ । बागलुङमा पछिल्लो तीन दिनयता परेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा तथा बगाउँदा १२ जनाको मृत्यु भएको हो । घटनामा एक जना अझै बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मंगलवार ताराखोला गाउँपालिका–५, सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी स्थानीय ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोले घर पुरिँदा पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको प्रहरीले जनाएको छ । यससँगै पछिल्लो तीन दिनयता जिल्लामा वर्षाजन्य विपद्का घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको हो । अविरल वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा पहिरो खस्नुका साथै घर तथा भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ ।