मोरङ । नेपाल पत्रकार महासंघ प्रदेश १ को भेला ११ बुँदे घोषणपत्र जारी गर्दै सकिएको छ । भेलाले कोरोना संक्रमणका बहानामा सञ्चारगृहबाट निष्कासन, बेतलबी बिदामा राख्ने, तलब घटाउनेलगायत कार्य गर्न दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ।
भेलाले साना तथा स्वरोजगारमुखी सञ्चार गृहको प्रवद्र्धनका लागि समानुपातिक विज्ञापनसँगै स्थानीय विज्ञापन स्थानीय सञ्चारगृहलाई उपलब्ध गराउन मातहतको निकायसमक्ष माग गरेको पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलावल्लभ घिमिरेले जानकारी दिए । अध्यक्ष घिमिरेले कानुन निर्माण गर्दा मुलुकको संविधान, आमसञ्चार नीतिअनुकूल तथा प्रेस स्वतन्त्रतामैत्री बनाउनुपर्नेमा जोड दिए ।
यसअघि, कार्यक्रमको उद्घाटन गर्दै प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले पत्रकारिता क्षेत्रतर्फको विकास, स्तरोन्नति र सृदृढीकरणका लागि प्रदेश सरकार तयार रहेको बताए। यस क्रममा प्रदेशमा पत्रकारिता र आमसञ्चार क्षेत्रको विकासका लागि छुट्टै मन्त्रालय बनाइएको जानकारी दिए।
त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले प्रदेशको प्रादेशिक सञ्चार प्रतिष्ठान खारेजी हुनु दुःखद भएको बताएका थिए।
कार्यक्रममा प्रदेशका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्ग्बो, प्रदेशभित्रका १४ जिल्लाबाट अध्यक्ष, सचिव, कोषाध्यक्षको सहभागिता थियो।