सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा

न्युजलय २ फाल्गुण २०७८, सोमबार ०७:३३ मा प्रकाशित

सोलुखुम्बु । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन आएको छ । यो प्रशारण लाइनले सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहीत गरेको छ ।

प्रसारण लाइनलाई सोमबार बिहान ११ः३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको छ । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरूको सङ्ख्या ३०२ वटा छ ।

उक्त प्रसारण लाइन अन्तर्गत तिंलामा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी, ८ एमभिए क्षमताको सब स्टेसन निर्माण गरी ७ भदौ २०७६ बाट सञ्चालनमा आइसकेको छ । तिंला सब स्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत् आपूर्ति हुने छ । 

‘आयोजनाहरूको विद्युत् सोलु करिडोरमा प्रवाह भएपछि मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङलगायतका जिल्लामा विद्युत प्रवाह गरिएको छ । ढल्केबर सब स्टेसनबाट भारततर्फ निर्यात गर्न पनि सजिलो हुने बताइएको छ । अब सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विद्युत् सेवा भरपर्दो र गुणस्तरीय हुने साथै चुहावट पनि घट्ने छ ।

२३.५ मेगावाटको सोलु खोला, १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु खोला (दूधकोसी), ८२ मेगावाटको तल्लो सोलु खोला लगायतका जलविद्युत आयोजनाको विद्युत् तिंला सबस्टेसनमा जोडिने छ । प्रसारण लाइन बन्ने भएपछि मात्रै प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत आयोजनासँग ३२५ मेगावाटको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ ।