इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा २०५३ सालदेखि नै शुद्ध खानेपानी उपलब्ध गराउने भन्दै इटहरी खानेपानी उपभोक्ता संस्था स्थापना भयो । यो संस्था स्थापना भएको २५ वर्ष पुरा भएको छ । यहि संस्थाले नै इटहरीमा खानेपानी प्रसोधान र वितरण गर्दै आएको छ । यसका अतिरिक्त दुहवी खानेपानी संस्था, पकली खानेपानी संस्था र तरहरा खानेपानी संस्था पनि रहेका छन् । तर, यी मध्ये कुनै सञ्चालनमा आएका छैनन् ।
सोहि कारण इटहरी उपमहानगरपालिकाका सम्पूर्ण परिवारमा शुद्ध पिउने पानी पुगेको छैन । इटहरी खानेपानी उपभोक्ता संस्थाका व्यवस्थापक हरिबहादुर कटवालले इटहरीको आधा घरधुरीमा मात्रै संस्थाको खानेपानीको धारा पुगेको जानकारी दिए । उनका अनुसार इटहरीका २० हजार सात सय ४० घरधुरीमा मात्रै खानेपानीको धारा पुगेको छ ।
यता राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार इटहरीमा ४० हजार दुई सय सात घरको बसोबास रहेको छ । यो आँकडालाई हेर्ने हो भने पनि इटहरीमा आधा घरधुरीमा मात्रै खानेपानीको धारा पुगेको देखिन्छ । इटहरीमा भित्रि गाउँ भन्दा सहरको जनधनत्व बाक्लो भएका कारण जनसंख्याका हिसाबमा भने झण्डै डेढ लाख जनसंख्या शुद्ध खानेपानी पिइहरेका छन् ।
‘२०५३ सालमा नेपाल सरकारले हामीलाई यो संस्था हस्तान्तरण गरेपछि हामीले चैत्र ८ गतेसम्ममा २० हजार सात सय ४० घरधुरीमा धारा जडान गरेका छौँ’, व्यवस्थापक कटवालले भने, ‘यो बजार एरिए भएको हुदा झण्डै डेढ लाख भन्दा बढी मानिसले सेवा पाएको भन्ने हामीलाई लाग्छ ।’ जनगणनाको प्रारम्भिक प्रतिवेदन अनुसार इटहरीमा एक लाख ९८ हजार ९८ जनसंख्या रहेको छ । जनसंख्याको हिसाबमा भने ८० प्रतिशत् जनसंख्या यसको सेवा पाइरहेका छन् । तर, यो तथ्याङ्कले के पनि चित्रण गर्छ भने, इटहरीमा भित्रि गाउँका नागरिकहरु अझै पनि शुद्ध पिउने पानीको पहुँच भन्दा बाहिर रहेका छन् । यो संस्थाबाहेकका अन्य ३ वटा खानेपानी संस्था सञ्चालन नहुँदा गाउँ गाउँमा शुद्ध खानेपानी उपलब्ध हुनसकेको छैन ।
इटहरी खानेपानी उपभोक्ता संस्थाले इटहरीको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १४, १६ र १७ मा सेवा दिइरहेको व्यवस्थापक कटवालले जानकारी दिए । त्यसमा पनि वडा नम्बर १, १४, १६ र १७ को भने केहि ठाउँमा मात्रै यो संस्थाले खानेपानी उपलब्ध गराउँदै आएको छ । यसबाहेक वडा नम्बर ११, १२, १३, १५, १८, १९ र २० का स्थानीय अझै कल तथा अन्य वैकल्पीक ठाउँबाट पानी पिउन बाध्य छन् । यी क्षेत्र इटहरीको ग्रामिण क्षेत्रमा पर्छन् ।
इटहरी खानेपानी उपभोक्ता संस्थामार्फत् धारा जडान गर्दा पहिलो चरणमा १५ हजार पाँच सय ५० रुपैयाँ तिर्नुपर्छ । यसमा धारा जडानका लागि आवश्यक केहि सामग्री संस्थाले उपलब्ध गराउँछ । यहि शुल्क पनि कतिपयले भुक्तानी गर्न सक्दैनन् । सोहि कारण पनि कतिपयले गाउँ घरमा नै पाइप लाइन आए पनि धारा जडान गर्न सकेका छैनन् । यहि कुरालाई दृष्टिगत गरेर संस्थाले ‘गरिवका लागि खानेपानी कार्यक्रम’ गत वर्षदेखि सञ्चालनमा ल्याएको छ । यो कार्यक्रममार्फत संस्थाले धारा जडान गर्न नसक्नेलाई नेपाल सरकारका विभिन्न संस्था र दातृनिकायका सहयोगमा धारा जडान निशुल्क गर्दै आएको छ । अहिलेसम्म संस्थाले दुई हजार एक सय २५ वटा निशुल्क धारा जडान गरिदिएको व्यवस्थापक कटवालले जानकारी दिए । जसमा गत वर्ष एक हजार चार सय ८६ घर र यो वर्षको चैत्र ८ गतेसम्म छ सय ३९ घरमा निशुल्क धारा जडान गरिदिएको उनले जानकारी दिए ।
संस्थाले हाल नेपालमा सञ्चालनमा रहेका खानेपानी संस्थाको भन्दा उत्कृष्ट खानेपानी उपलब्ध गराउँदै आएका दावी गरेको छ । तर, आम नागरिक भने त्यसमा विश्वस्त देखिँदैनन् । ‘मैले पनि त्यहि खानेपानीको पानी खाइरहेको छु । राम्रो छ भन्ने सुनेको छु’, नागरिक समाज इटहरीका अध्यक्षसमेत रहेका इटहरीका वासिन्दा राजु केसीले भने, ‘मैले त्यसको कुनै वैज्ञानीक परिक्षण गरेको छैन । खानेपानीको पि।एस स्केल सामान्यतया ७ लाई मान्ति क्यारे १ त्यसमा पानीको हार्डनेस्, सफनेस्, क्यल्सियम कार्बोनेटको मात्रा लगायतका सम्पूर्ण कुराको परिक्षण कसले गरेको थाहा छैन । तर मैले सुन्दा चाहिँ इटहरीको खानेपानी शुद्ध छ राम्रो छ भन्ने सुनेको हो ।’ ल्यावहरुबाट प्राप्त भएका प्रमाणपत्रहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुपर्ने उनको माग छ । जसले खानेपानी शुद्ध छ भन्ने विश्वास जनतामा हुने उनि बताउँछन् ।