‘इनरुवा अस्पतालमा चरम राजनैतिक गतिविधि भइरहेको छ’ : मेयर मेहेता

शंकर खत्री ५ माघ २०७८, बुधबार ०२:०७ मा प्रकाशित

इटहरी । इनरुवा नगरपालिकाका मेयर राजन मेहेताले इनरुवा अस्पतालमा चरम राजनैतिक चलखेल हुने गरेको आरोप लगाएका छन् । मंगलबार नगरपालिकाका आयोजित स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले इनरुवा अस्पताललाई टेकेर एक वर्षदेखि राजनैतिक गतिविधि भइरहेको बताएका हुन् । 


आफूले पहिले नै अस्पतालमा राजनीति भएको थाहा पाए पनि भन्दै हिँड्दा झन् राजनैतिकिकरण हुने भयले चुप बसेको उनले बताए । ‘इनरुवा अस्पतालमा अहिले एउटा जल्दोबल्दो समस्या छ । इनरुवा अस्पताललाई टेकेर राजनैतिक गतिविधि गर्ने काम चाहिँ विगत एक वर्ष देखि भइरहेको छ’, उनले भने, ‘त्यो कुरालाई चाहिँ मैले चर्चाको विषय किन बनाएको छैन भने यसो गरे झन् त्यहाँ राजनैतिकरण हुन्छ ।’


अस्पतालको विषयमा आन्दोलन गरेर र अस्पतालको सेरोफेरो सरसफाइ गरेर सामाजिक सञ्जालमा राख्दैमा इनरुवा अस्पतालको सफाइ नहुने उनको भनाइ छ । अस्पतालमा राजनैतिक गतिविधि बढेकै कारण यहाँ आउने प्रमुख छोटो समयमा नै जाने गरेको उनले बताए । राजनैतिक खेल भएकै कारण अस्पतालमा डाक्टरलाई कार्यसम्पानको वातावरण नभएको उनको तर्क छ । 


इनरुवा अस्पताल प्रदेश १ कै अपस्ताल विगर्ने थलो भएको उनको दाबी छ । इनरुवा अस्पतालमा आफू गएर राम्रो काम गर्ने डरले उप मेयरलाई व्यवस्थापन समितिमा लगिएको उनको आरोप छ । इनरुवा अस्पताललाई नै हेरेर प्रदेश १ भरिकै जिल्ला अस्पतालको व्यवस्थापनमा उपमेयर लाने प्रवधान बनाएको उनको आरोप छ । 


‘म इनरुवा अस्पतालको बोर्ड मेम्बर भएको एक वर्ष भयो । त्यो पहिला नगरपालिकाको उपमेयरलाई दिएको थियो राजनैतिक चलखेलमा’, उनले भने, ‘इनरुवा नगरपालिकाको मेयरलाई हेरेर १ नम्बर प्रदेश भरिको जिल्ला अस्पताललाई ध्वस्त बनायो तत्कालीन सरकारले । यो मेयरलाई त्यहाँ राख्यो भने के के न गर्ने हो ? विकास गर्ने होला हस्पीटल राम्रो बनाउला । नगरपालिकाको उपमेयरलाई लगौँ मेयरलाई नलगौँ भनेर लगियो । हामीलाई हेरेर प्रदेश भरिका जिल्ला अस्पताललाई बर्बाद गरियो ।’