इटहरी । नेपाल वेयर हाउजिङ कम्पनीले सुनसरीको गढी गाउँपालिकामा स्थापना गरेको नेपालकै पहिलो तथा ठुलो अन्न भण्डारण–गृहले व्यावसायिक कारोबार सुरु गरेको छ ।
भण्डारण–गृहमा राख्नका लागि भारतको पूर्णिया, गुलाबबागबाट ल्याइएको एक सय ५० मेट्रिक टन मकै भण्डारण गरेर कम्पनीले आजदेखि कारोबार सुरु गरेको हो ।
प्रदेश १ का आन्तरिक मामिला सचिव कालीप्रसाद पराजुली, आर्थिक मामिला तथा योजना सचिव सुमन दाहाल, कृषि सचिव मेघनाथ तिमल्सेना, सामाजिक विकास सचिव दीर्घराज मैनाली, क्षेत्रीय कृषि निर्देशनालय प्रमुख प्रकाशकुमार डाँगीले रिबिन काटेर भण्डारण–गृह प्लान्टको उद्घाटन गरेका थिए ।
भण्डारण–गृह परिसरमा आज आयोजित विशेष समारोहमा कम्पनीका कार्यकारी निर्देशक जयमुकुन्द खनालले यसप्रकारणको अन्न भण्डारण–गृह हालसम्म नेपालमा नभएको जानकारी दिए । खनालका अनुसार लागत पुँजी एक सय ३९ करोड रहेको सो कम्पनीले सोही क्षमताको अर्को भण्डारण–गृह पर्सामा र २५ हजार मेट्रिक टन क्षमताको भण्डारण–गृह कपिलवस्तुमा निर्माणाधिन चरणमा रहेको छ ।
सुनसरीको गढी गाउँपालिका–२ औरावनीमा स्थापित तीनवटा अन्न भण्डारण प्लान्ट स्वचालित, साइलो प्रविधिमा आधारित रहेका छन् । प्रत्येकको पाँच हजार मेट्रिक टन क्षमता रहेका ती प्लान्टमध्ये एउटामा मकै, एउटामा गहुँ र एउटामा भटमास भण्डारण गरिने कम्पनीले जनाएको छ ।
व्यवसाय शुभारम्भ कार्यक्रममा बोल्ने वक्ताहरूले यस भण्डारण–गृहको स्थापनाले नेपाली कृषकको जीवनमा अब देखिने गरी परिवर्तन आउने अपेक्षा गरेका थिए । उनीहरूले भण्डारणस्थलको अभावमा उत्पादनको समयमा सस्तो मूल्यमा अन्न बेच्नुपर्ने किसानको बाध्यता अन्त्य भएको धारणा पनि राखेका थिए ।
खाद्यान्न भण्डारण–गृह निर्माणले नेपालको पूर्व क्षेत्रका साथै भारतीय सीमावर्ती क्षेत्रका अन्न उत्पादक किसानसहित कृषिवस्तु सङ्कलक, खाद्यान्न प्रशोधक तथा दाना उत्पादकहरू लाभान्वित हुने बताइएको छ ।
कम्पनीले कृषक तथा खाद्यान्न सङ्कलकहरूलाई अर्को बालीका लागि आवश्यक पर्ने पुँजीको अभाव हुन नदिन निजहरूले भण्डारण–गृहमा राखेको खाद्यान्नको परिमाणलाई धितो मानेर बैङ्क तथा वित्तीय संस्थाहरूमार्फत ऋण प्राप्त गर्न सहजीकरण गर्ने लक्ष्यसमेत राखेको छ ।
तीनवटै जिल्लामा स्थापित भण्डारण–गृह निर्माणको सिलसिलामा कम्पनीले बैङ्कहरूबाट लिएको ऋण रकममध्ये २० करोड रुपैयाँको ब्याज नेपाल सरकारले अनुदानका रूपमा ब्यहोरेको कम्पनीका सुनसरी प्लान्ट प्रमुख सन्दीप दाहालले बताए ।