धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

न्युजलय १३ असोज २०८३, मङ्गलबार १२:०९ मा प्रकाशित

धरान । धरान उपमहानगरपालिका–१५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मंगलबार बिहानको राति श्यामचोकबाट पुरानो बसपार्कतर्फ जाँदै गरेको को ३५ प ४११५ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई स्थानीयको मासु पसलको पर्खालमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको नामथर र ठेगाना खुल्न सकेको छैन । करिब ३०–३१ वर्षका देखिने उनको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालकले अचानक ब्रेक लगाउँदा ब्रेकमा समस्या आएपछि मोटरसाइकल दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनामा परेको मोटरसाइकल अस्थायी प्रहरी चौकी श्यामचोकको नियन्त्रणमा रहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।