त्रिविबाट साढे ७३ हजार विद्यार्थी दीक्षित, विश्व रेकर्ड कायम गर्ने दाबी

न्युजलय २ पुस २०८०, सोमबार ०८:४५ मा प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५ अध्ययन संस्थान र ४ संकायका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसबाट पढाइ पूरा गरेका ७३ हजार ७ सय ४९ विद्यार्थीलाई सोमबार(आज) दीक्षित गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ४९ औं दीक्षान्त समारोहस्थलबाट १२ हजार ४ सय १५ जना दीक्षित भएका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

दीक्षित हुने विद्यार्थी गाउनमा सजिएर अभिभावकसँगै समारोहस्थलमा आएका थिए । विद्यार्थी, अभिभावकको भीडभाडले त्यसक्षेत्रको ट्राफिक व्यवस्था भने प्रभावित भएको थियो ।

गत वर्षहरूमा पनि त्रिविले ६० देखि ७० हजारको हाराहारीमा वार्षिक रूपमा विद्यार्थी दीक्षित गर्दै आएको छ । यस पटक भने त्रिविले विश्व रेकर्ड कायम गर्ने दाबीसमेत गरेको छ । विश्वमा नै सबैभन्दा धेरै विद्यार्थी दीक्षित गर्ने विश्वविद्यालयका रूपमा दावी प्रस्तुत गर्न गिनिज बुक अफ वल्ड रेकर्डमा आवेदन दिएको जोशीले बताए ।


।