धरान । धरानमा शुक्रबार दिउँसो सद्भाव र्याली निकालिएको छ । धरानमा रहेका १३ दलले गरेको र्यालीले नगर परिक्रमा गरेको छ ।
झरीका बिच निकालिएको नागरिक सद्भाव र्याली भानुचौक घण्टाघरमा पत्रकार सम्मेलन गर्दै सम्पन्न भएको थियो । दलहरुले संवादबाट समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै धरानमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।
र्याली नागरिक अगुवाहरू धरान उपमहानगरपालिकाका पूर्व मेयर, उपमेयरहरूद्वारा आव्हान गरिएको थियो । र्यालीमा उल्लेख्य सङ्ख्यामा नगरवासी सहभागी भएका थिए भने राजनीतिक दलका स्थानीय नेतृत्वहरू र उपमेयर अइन्द्रविक्रम बेघासमेत सहभागि थिए ।
बहुलतायुक्त विशेषतालाई आत्मसात् गर्दै सबै जाति, धर्म समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गरी सामाजिक द्वेष बढाउने, आस्था भावनामा ठेस पुराउने गतिविधि नगर्न दलहरूले आग्रह गरेका छन् । यस्तै सामाजिक सञ्जाल लगायतबाट सामाजिक सद्भाव खल्बलिने सामाग्रीहरू पोस्ट शेयर तथा कमेन्ट नगरिदिन सबैमा हार्दिक अपिलसमेत गरिएको छ ।
यता नगरप्रमुख हर्क साम्पाङ भने नागरिकहरुले गरेको र्यालीमा सहभागि भएनन् । बरु आफै पाद्ने अनि आफै तर्सनेहरु देख्दा हाँस उठ्छ भन्दै वृक्षरोपणमा प्ुगे । दिउँसो सामाजिक सद्भाव कायम राख्ने विषयमा एउटा वक्तव्य निकाले । त्यसको अघि, पछि उनले सामाजिक सद्भाव कायम गर्ने विषयमा आफ्नो फेसबुक पेजमा समेत केही लेखेनन् । साँझ उनले शनिबार हुने भनिएको वृक्षरोपण रद्ध गरिएको सुचना राखे ।