कैलाली । कैलालीमा चोरले सामान चोरेर फिर्ता गरेका छन् ।
गोदावरी नगरपालिका–१ वनखेत बस्ने नवीन साहुको घरबाट १४ मंसिरको हराएको सुन चोरले घर अगाडि प्रेसर कुकरमा राखेर फिर्ता गरेका हुन् ।
चोरले चार महिनापछि चिट्ठीमा सुझाव लेखेर गहना फिर्ता गरेका हुन् । साहुका ससुराले १४ मंसिरको राति करिब १० तोला सुन र १ लाख नगद चोरी भएको भन्दै इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उजुरीपछि प्रहरीले खोजीकार्य अगाडि बढायो ।
सुन चोरी भएको भन्दै निवेदन दिएका साहुको घर अगाडि प्रेसर कुकर भित्र चोरी भएको सुनका गहनाका साथै त्यसमा घरमालिकलाई चिठ्ठी लेखेर समाजमा मिलेर बस्नुपर्नेलगायतका सुझावहरू राखेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार प्रेसर कुकरभित्र सुनका गहनासहित चिठ्ठी थियो, चिट्ठीमा घर मालिकलाई विकास निर्माणका कुरा गर्दा असहमति राख्नु भएको थियो । अब आइन्दा त्यस्तो असहमति नराख्नु होला, समाजमा मिलेर बस्नुहोला, सबैलाई मान मर्यादा गर्नुहोला लगायतका सुझावहरू लेखिएको छ ।
चोरिएको सुन भेटिएपछि प्रहरीले मुचुल्का बनाएर जनप्रतिनिधिको रोहवरमा सम्बन्धित व्यक्तिलाई बुझाएको प्रहरीले जनाएको छ । घटनामा गाउँ टोलकै मानिस संलग्न हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।