झापामा ४५ सय बढी उद्योग दर्ता

न्युजलय १६ फाल्गुण २०७८, सोमबार ०७:५९ मा प्रकाशित

झापा । झापामा पछिल्लो डेढ वर्षमा चार हजार पाँच सय ६ उद्योग दर्ता भएका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष ०७७–०७८ मा मात्र तीन हजार ११० उद्योग दर्ता भएका छन् ।

यस्तै, चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र १३ सय ९६ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख जयनारायण अधिकारीले जानकारी दिए । योसँगै झापामा हालसम्म करिब २५ हजार उद्योगतर्फ तथा २० हजार वाणिज्यतर्फ दर्ता भएको उनले बताए ।

गत आर्थिक वर्षमा उद्योग दर्ता गर्न आउनेमध्ये सबैभन्दा धेरै महिला छन् । गत वर्ष एक हजार सात सय ८४ उद्योग महिलाको नाममा दर्ता भएको अधिकारीले बताए । उनका अनुसार एक हजार चार सय ४० उद्योग पुरुषको नाममा दर्ता भएका छन् ।

गत आर्थिक वर्षमा तीन हजार ११० उद्योग दर्ता हुँदा पाँच हजार आठ सय ८८ ले रोजगारी पाएको अधिकारीले बताए । यद्यपि चालू आर्थिक वर्षको ६ महिनामा भने महिलाको नाममा भन्दा पुरुषको नाममा धेरै उद्योग दर्ता छ ।

घरेलु तथा साना उद्योग कार्यालय झापाको अनुसार आठ सय ५५ उद्योग महिला र नौ सय ३० पुरुषको नाममा दर्ता रहेको अधिकारीले बताए । 

कोरोनाकालमा सबैभन्दा धेरै कृषिजन्य उद्योग दर्ता भएको छ ।