इटहरीको प्रमुखमा एमालेका चार जनाको चर्चा

शंकर खत्री १७ चैत २०७८, बिहिबार ०७:१६ मा प्रकाशित

इटहरी । प्रदेश १ मा एक महानगरपालिका र दुई उपमहानगरपालका सहित एक  सय ३७ वटा स्थानीय तह रहेका छन् । 

विराटनगर महानगरपालिका मोरङमा र दुई उपमहानगरपालिका इटहरी र धरान सुनसरीमा रहेको छन् । यस अघि भएको ‘स्थानीय तह निर्वाचन २०७४’ इटहरी र धरानको प्रमुख पदमा नेकपा एमालेकै पल्लाभारी भएको थियो । 

धरानको प्रमुखमा नेकपा एमालेका तारा सुब्बा र उप प्रमुखमा एमालेकै मञ्जु भण्डारी सुवेदी विजयी भए । तारा सुब्बाको निधन भएपछि २०७६ सालमा भएको उपचिर्वाचनबाट नेपाली काँग्रेसका तिलक राई धरानको प्रमुख पदमा विजयी भएका छन् । 

यता इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा एमाले द्वारिकलाल चौधरी र उप प्रमुखमा एमालेकै लक्ष्मी गौतम विजयी भए । वैशाख ३० का लागि ‘स्थानीय तहको निर्वाचन’ तोकिएपछि प्रमुख पदमा आकांक्षी प्रकट गर्नेहरुको संख्या बाक्लिँदै गएको छ । इटहरीको मेयरकालागि एमालेका चार जना आकांक्षी देखिएका छन् ।

इटहरीमा एमालेबाट अहिलेका मेयर चौधरी, उपमेयर लक्ष्मी गौतम, इटहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलागाइँ र एमाले इटहरी उपमहानगर कमिटि अध्यक्ष यमकुमार सुब्बा मेयरका आकांक्षी देखिएका छन् । 

द्वारिकलाल चौधरी 

बहालवाला मेयर द्वारिकलला चौधरीले पनि पुनः कार्यकाल दोहोर्याउने मनासय व्यक्त गरेका छन् । २०७४ सालमा भएको निर्वाचनबाट नेपाली काँग्रेसका रोहित प्रसाईँलाई पराजित गर्दै चौधरी इटहरीको मेयरमा निर्वाचित भएका हुन् । उनि यसअघि हाँसपोसा गाउँ विकास समतिको अध्यक्ष पनि भएका थिए । यसका साथै पार्टीको जिल्ला कमिटिको पुर्व अध्यक्ष पनि रहिसकेका चौधरी पुन कार्यकाल दोर्याउने मनासयमा छन् । 

पार्टीले टिकट नदिए मेयरका आकांक्षी उमेदवारलाई सघाउने उनि बताउँछन् । तर, टिकट नपाए उनले सघाउने अवस्था नहरेको जानकारहरु बताउँछन् । पछिल्लो समय नगरको उद्घाटन र सिलन्यास कार्यक्रमलाई तिव्रताका साथ अघि बढाएका उनले मेयरको तयारीकै लागि यो गरेको धेरैको आँकलन छ । 

यसका साथै केहि महिना पहिलो इटहरीमा भएको सिलन्यास कार्यक्रममा उनले माधवकुमार नेपाललाई डाक्ने गरेका थिए । तत्कालिन नेकपा एमालेबाट विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरि त्यसको अध्यक्ष रहेका नेपाललाई बारम्बार इटहरीमा बोलाउनुलाई धेरैले संकाको दृष्टिकोणले हेरेका छन् । 

यदि एमालेबाट मेयरको टिकट नपाए एकीकृत समाजवादीबाट भए पनि मेयरमा उठ्ने अड्कलबाजी सुरु भएको छ । तर उनि भने त्यसको खण्डन गर्छन् । ‘आफू नगरको अभिभावक भएकाले राष्ट्रिय स्तरमा प्रभाव जमाएका नेताहरुलाई इटहरीको विकासको स्वार्थ राखेर बोलाउनु नितान्त विकासका काम ल्याउनुसँग मात्रै जोडिएको’ उनको भनाइ छ । 

यसपछि पनि मेयरको दाबेदार हुनुहुन्छ भन्ने न्युजलयको प्रश्नमा जवाफ दिदै उनले भने ‘प्रधानसेनापतिको भूमिका पाए अर्जुन जस्तो लड्ने, महारथिको भूमिका पाए श्रीकृष्णको जस्तो रथ चलाउने । आफ्नो सेना, आफ्नो पक्षलाई विजयी गराउने । कतिपय म भन्दा धेरै योगदान गरेका मान्छेहरु वडा सदस्य पनि भएका छनन् । त्यसकारण अनुमान गर्नुस्न मेरो के हुन्छ भनेर ।’ 

पार्टीमा योगदान गरेर मात्रै मेयरको टिकट नपाउने तर्फ संकेत गर्दै उनले भने, ‘जुँगा लामो हुँदैमा त हुँदैन नि त । जुँगा फुलेको छ भनेर त हुँदैन नि त । भूँडी ठूलो छ भनेर नि हुँदैन नि त । किन भने कसले पार लगाउँछ त्यसलाई सेनापति चुन्छ ।’ आफ्ना शुभचिन्तक, स्थायी कमिटिका वरिष्ट उपाध्यक्ष र पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग सुमधुर सम्बन्ध रहेको उनको दावी छ । ‘अरुले दोहोर्याउँदा इटहरीको मेयरले चाहिँ दोहोर्याउन नहुने कारण के हो रु’ भन्दै उनि प्रश्न गर्छन् । 

लक्ष्मी गौतम 

‘स्थानीय तह निर्वाचन २०७४’ बाट इटहरीको उपमेयर पदमा विजयी अर्थात् बाहालवाला  उपमेयर लक्ष्मी गौतमले पनि यो पटक मेयरमा नै दावेदारी दिने पक्का जस्तै छ । 

त्यसका केहि संकेतहरु उनले दिइसकेकी छिन् । महिलाहरुलाई ‘उप’ मा मात्रै सिमित राखेको भन्दै उनि अब प्रमुख पदमा महिला आउनुपर्ने बताउँछिन् । नेकपा एमालेको १० औँ महाधिवेशनबाट केन्द्रिय सदस्य बनेकी गौतमले एमालेबाटै मेयर पदमा आकांक्षा व्यक्त गरेकी छिन् । 

गत चैत्र १ र २ गते ‘प्रमुख पदमा महिलाको समान सहभागिता सुनिश्चित गरौँ’ भन्ने नाराका साथ काठमाण्डौमा भएको अखिल नेपाल महिला संघको तेस्रो पूर्ण बैठकमा बोल्दै उनले उपप्रमुख हुँदा धेरै सिकेको र अव त्यो सिकाइलाई प्रमुख पदमा रहेर व्यवहारमा उतार्ने बताइन् । ‘लडदै जुध्दै हामीले इमान्दारका साथ काम गर्यौँ’, उनले भनिन्, ‘जनताको पैसा हामीले एक रुपैयाँ पनि वेइमानी गरेनौँ र गर्न दिएनौँ । 

हामीलाई विगतमा पनि प्रमुख पद दिएको भए काम गर्न सक्ने रहेछौँ भन्ने लाग्यो । हुन त त्यो बेला पनि हामीले प्रमुखमा नै दावी गरेका थियौँ । तर, यो बेला पार्टीले हामीलाई उप प्रमुखको जिम्मेवारी दियो । तर यो पाँच वर्षको अवधिमा हामी अबल भएर निस्किएका छौँ । र, पार्टीले हामीले गरेको कामलाई शुक्ष्म रुपले अध्ययन गरोस् ।’ उनले खुलेर नै अब मेयरमा उठ्ने मनासय राख्दै आएकी छिन् । 

यमकुमार सुब्बा

झण्डै एक दशक नेकपा एमाले इटहरी नगर कमिटिको अध्यक्षको जिम्मेवारी सम्हालेका यमकुमार सुब्बा पनि यो पटक मेयरका आकांक्षी मध्येका एक हुन् । उनि खुलेरै ‘म मेयरमा उठ्छु’ भनेर नलागे पनि पछिल्लो गतिविधिले उनि मेयरका आकांक्षी हुन् भन्न सकिन्छ । सुब्बा अहिले पार्टीको नगरदेखि वडा र टोल कमिटि विस्तार, प्रशिक्षण तथा अन्तरक्रियामा सक्रिय छन् । यसले पनि उनि एमालेबाट इटहरीको शसक्त दावेदार हुन् भन्ने यकिन गर्न सकिन्छ । 

रामप्रसाद चौलागाईँ

इटहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्षसमेत रामप्रसाद चौलागाईँ नेकपा एमाले प्रदेश १ कमिटि सदस्य पनि हुन् । अघिल्लो पटक अर्थात् २०७४ सालको  स्थानीय तह निर्वाचनमा पनि मेयर पदमा दावेदारी दिएका चौलागाईँले चौधरीले स्थान दिएका थिए । यो पटक भने आफू कुनै पनि हालतमा मेयरमा उमेदवारी दिने तयारीमा उनि लागेका छन् । 

न्युजलयसँगको कुराकानीमा उनले खानेपानीलाई जस्तै इटहरी उपमहानगरलाई पनि एक नम्बर बनाउन आफू उमेदवार बन्ने दावी गरेका छन् । अहिले एमाले इटहरीमा कमजोर छ भन्नु गलत भएको भन्दै उनि इटहरीको बागडोर एमालेकै पोल्टोमा आउँछ भन्नेमा विश्वस्त छन् ।

अघिल्लो निर्वाचनमा मेयर चौधरी, खानेपानी अध्यक्ष चौलागार्ईँ र इटहरीको पहिलो मेयर तथा हालका प्रदेश सभा सदस्य सर्वध्व साँवाको नाम सिफारीस भएको थियो । उनिहरु दुई जनाको उचित व्यवस्थापन पार्टीले गरेको र अब आफ्नो पालो आएको उनको भनाइ छ । 

‘पार्टी जीवन, पार्टीमा आवद्धताको लामो समय मेरो पनि यहि पार्टी (एमाले)मा रहेको छ’, चौलागाईँले भने, ‘हामी तीन जना नेताहरुलाई नगरको प्रमुखमा सिफारीस गरेको थियो । उहाँहरु दुई जनाले टिकट पाएर व्यवस्थापन भइसकेको छ ।

अब बाँकी, मेरो आजसम्म खास खालको व्यवस्थापन भएको छैन ।’ अब आफूले पार्टीबाट दावी गर्ने नभएर पार्टीले नै आफूलाई मेयरका लागि सहयोग गर्नुपर्ने उनको धारणा छ । पार्टीले आफूलाई मेयरको टिकट दिए आफूसँग इटहरीको दिर्घकालीन विकासका लागि खास खालका योजनाहरु रहेको उनको भनाई छ ।