काठमाडौं । यही पौष १६ गते हुने सहकारीको छाता सङ्गठन राष्ट्रिय सहकारी बैङ्कको सञ्चालक समिति खुल्ला सदस्य तर्फ हरिबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।
दर्जनै सङ्घ संस्थाहरूको नेतृत्वदायी पदमा रहेर काम गरेका खड्का गण्डकी प्रदेशबाट एक्ला उम्मेदवार हुन् । उनी एक दशकदेखि शुभकामना बहुउद्देश्यीय सहकारी संस्था दुलेगौँडाको सञ्चालकको रूपमा आबद्ध छन् ।
उनले उमेदवारी दिएसँगै सहकारी बैङ्कको बिस्तार तथा व्यवस्थापनमा सहयोग पुर्याउन, आर्थिक सुशासन तथा पारदर्शिता कायम गर्न, सहकारी अभियानलाई सुदृढ बनाउन, सहकारी तथा सहकारी कर्मचारी स्थायित्वका लागि र राज्यको तीन खम्बे अर्थनीति अन्तर्गत सहकारीलाई बलियो खम्बाको रूपमा स्थापित गर्न जस्ता योजनाहरू अघि सारेका छन् ।
सहकारीको दिगो विकासकालागि आफूले सारेका योजनाहरू आजको समयमा अपरिहार्य रहेको भन्दै ती योजनाहरूलाई कार्यान्वयन चरणमा पुर्याउन आफूलाई मत दिएर जिताउन प्रदेश १ का सहकारीका प्रतिनिधिहरू समक्ष अपिल समेत गरेका छन् । देशभरका १६ हजार बढी सहकारीको लगानीमा स्थापित बैँकको संञ्चालक समितिको छनोट गर्दा आबद्ध रहेका सहकारीको प्रतिनिधिहरूले भोट गर्ने खड्काले बताए । उनका अनुसार प्रदेश १ का लागी विराटनगरमा निर्वाचन हुनेछ ।
बैंकको पुस १६ गते हुने १९ औं वार्षिक साधारण सभाले अध्यक्ष सहित १५ जना संचालक र संयोजक सहित तीन जनाको लेखा समिति चयन गर्नेछ । सचालकमध्ये प्रदेश संचालकमा २ जना महिला र खुल्ला संचालकमा तीन जना महिला आरक्षण गरिएको छ । यस्तै लेखा समितिमा पनि एक महिलाको आरक्षण गरिएको छ ।
खड्का ढोरबाराही एफ.एम. प्रा.लि.को सञ्चालक समितिका सचिव समेत हुन् । स्वास्थ्य तथा शिक्षा क्षेत्रतर्फ खड्का एसोसियट अफ प्राइभेट हेल्थ इन्स्टिच्युड अफ नेपालको केन्द्रीय उपाध्यक्ष, तनहुँ सेवा हस्पिटलका अध्यक्ष, पश्चिमाञ्चाल प्राविधिक शिक्षालयका अध्यक्ष र बाल विद्या मन्दिर माध्यमिक विद्यालयको सञ्चालक हुन् ।
खड्काले आफू आबद्ध संस्थाहरूको पद अनुसार सफल नेतृत्व र भूमिका निर्वाह गर्दै आएका छन् । व्यावसायिक क्षेत्रमा सफल खड्का युनिक डिपार्टमेण्टल स्टोर प्रा.लि, युनिक मल्टी एग्रो प्रा.लि, युनिक ट्रेडर्स, युनिक इन्टरप्राइजेज, युनिक ट्रडिङ कन्सर्न र युनिक सप्लायर्सको सञ्चालक समेत हुन् ।