नगरका ८० बर्षमाथिका ज्येष्ठ नागरिकलाई सिरक वितरण

न्युजलय २९ माघ २०७८, शनिवार ०१:४९ मा प्रकाशित

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गर्न थालेको छ । नगर क्षेत्रका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्ने गरी शुक्रबारबाट नगरपालिकाले यो अभियान थालेको हो ।

महालक्ष्मी नगरक्षेत्रमा ८० बर्षमाथिका करिब ३५० ज्येष्ठ नागरिक रहेको नगरपालिकाको तथ्यांक छ । उनीहरु सबैलाई सिरक वितरण गरिने नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए । धेरै बृद्धबृद्धाहरु हिड्न नसक्ने भएकाले उनीहरुको अवस्था अनुसार घर–घरमै पुगेर वा वडा–वडामा परिवारका सदस्यलाई बोलाएर सिरक वितरण गर्ने तयारी गरिएको छ । सिरक वितरणका लागि वडा कार्यालयहरुमार्फत ८० बर्षमाथिका ज्येष्ठ नागरिकको तथ्यांक संकलन गरिएको थियो ।