फागुन १७ गते इटहरीमा ‘ह्वीलचियर रन’ हुने

शंकर खत्री १५ फाल्गुण २०७८, आइतबार ०५:५८ मा प्रकाशित

इटहरी । मार्च १ (फागुन १७ गते) अर्थात् अन्तराष्ट्रिय ह्वीलचियर दिवसको अवसरमा ‘ह्वीलचियर रन’ हुने भएको छ । 

स्पाईनल ईन्जुरी संघ प्रदेश १ को आयोजनामा सुनसरीको इटहरीमा ‘ह्वीलचियर रन’ हुने भएको हो । रनमा २५ जना पुरुष र १५ जना महिलाको सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत् आयोजकले जानकारी दिएको छ । 

सोहि दिन जनचेतनामूलक ह्वीलचियर र्याली गरीने आयोजकले जानकारी दिएको छ । सो र्यालीमा प्रदेश १ का एक सय भन्दा बढी स्पाईनल ईन्जुरी भएका ह्वीलचियर प्रयोगकर्ताहरु सहभागी रहने संघका प्रदेश १ अध्यक्ष विक्रम घिमिरेले जानकारी दिए । 

प्रतियोगितमा प्रदेश १ का सुनसरी, झापा, मोरङ, उदयपुर, इलामा, धनकुटा लगायताका जिल्लाबाट प्रतियोगी सहयोगी हुने उनले जानकारी दिए । इटहरी उपमहानगरको वडा नम्बर १ को आँपगाछीबाट हलगडा चौकसम्म रन हुने उनले जानकारी दिए । 

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने महिला र पुरुषलाई क्रमश पाँच हजार, चार हजार र तीन हजार प्रदान गरीने अध्यक्ष घिमिरेले जानकारी दिए । सो कार्यक्रममा दुई लाख २३ हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगीतलाई धरान रनले समते सहयोग गर्ने छ ।