विराटनगर । नेकपा (एमाले) का केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई सवार सवारीसाधनमाथि आइतबार ताप्लेजुङमा ढुङ्गामुढा गरेको घटनाप्रति नेकपा (एमाले) कोशी प्रदेश कमिटीले भत्सर्ना गरेकोछ ।
एमाले ताप्लेजुङ्ग जिल्ला कमिटीले आइतबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रम सकेर फर्कने क्रममा भट्टराई सवार सवारीसाधनमा फुङलिङस्थित बिरेन्द्र चौक र तोक्मे डाडांमा आक्रमण गरिएको थियो । उनीसँगै पार्टीका अन्य नेता कार्यकर्तामाथी समेत हातपात गरी पार्टीका कार्यकर्ता सवार मोटरसाईकल समेत तोडफोड गरी क्षती पुर्याइएको घटनाको कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ती जारी गर्दै निन्दा गरेका हुन् ।
लुकिछिपी आक्रमण गर्नेहरु पहिचानवादी हुनै नसक्ने उल्लेख गरेको छ । उसले सरकारले अराजकतालाई प्रश्रय दिएकोसमेत आरोप लगाएको छ । अराजनीतिक र अवान्छित कार्यमा संलग्नलाई अबिलम्व नियन्त्रणमा लिएर कानुनी कारर्वाहीको दायरामा ल्याउन माग गरिएको छ ।
नेकपा (एमाले) सामाजिक, सांस्कृतिक विविधतायुक्त साझा पहिचान र जातीय सद्भावयुक्त समाज निर्माणका लागि दशकौँदेखि लड्दै आइरहेकाले यस्ता सानातिना उदण्ड घटनाबाट विचलित नहुने विज्ञप्तीमा उल्लेख छ ।
संवैधानिक व्यवस्था, ऐन र कानुनी प्रक्रियाबाट प्रदेशसभाले कोशी प्रदेश नामकरण गर्ने निर्णय भइसकेको अवस्थामा एमाले र यसका नेताहरुमाथि निशाना बनाइरहँदा सरकारले त्यस्ता अराजक गतिविधि नियन्त्रण गर्न कुनै ध्यान नदिएर अराजकतालाई थप प्रश्रय दिइरहेको विज्ञप्तीमा उल्लेख छ ।