घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका १ घोडेटार स्थित हुने भनिएको भलिबल प्रतियोगिता स्थगित गरिएको छ ।
हतुवागढी खेलकुद विकास समितिको आयोजानामा माघ ३ गते देखि हुने भनिएको पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता दोस्रो पटक स्थगित गरिएको हो ।
यस अघि पौष २५ बाट हुने भनिएको उक्त प्रतियोगिता विविध कारणले माघ ३ बाट सञ्चालन गर्ने गरि सारिएको थियो ।
बुधबार जिल्ला प्रशासन कार्यलयले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रण सम्बन्धि ९ बुँदे आदेश जारी गरे सँगै उक्त प्रतियोगिता अनिश्चित कालका लागि स्थगित गरिएको हो ।
समितिले खेल सञ्चालन गर्ने तयारी गरि रहेको तर गाउँपालिका तथा जिल्ला प्रशासनबाट कोभिड १९ नियन्त्रण सम्बन्धि आदेश जारी भए सँगै खेल स्थगित गर्न बाध्य भएको हतुवागढी खेलकुद समितिका सचीव प्रकाश बस्नेतले जानकारी दिए ।
सचीव बस्नेतले भने,‘हामीले सम्पर्कमा आएका खेलाडीहरुलाई स्थगित बारे जानकारी दिएका छौं । कोरोना संक्रमण अवस्था सामान्य भए पछि पुनः सञ्चालन गर्ने गरि स्थगित गरेका हौं ।’
उक्त भलिबल प्रतियोगिताको पुरुष तर्फ विजेता टिमलाई रु १ लाख ५० हजार ५ सय ५५ र उपविजेता टिमलाई रु १ लाख १ हजार १ सय ११ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा महिला तर्फ विजेता टिमलाई रु. ७५ हजार ५ सय ५५ र उपविजेता टिमलाई ५० हजार ५ सय ५५ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उल्लेख गरिएको थियो ।
जिल्ला प्रशासन कार्यलय भोजपुरले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण नियन्त्रण सम्बन्धि ९ बुँदे आदेश जारी गरेको छ ।
बुधबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले पौष २८ गते देखि अर्को आदेश जारी नभए सम्म लागू हुने गरि ९ बुँदे आदेश जारी गरेको हो ।
आदेश जारी भए सँगै २५ जना भन्दा बढी उपस्थित भएर भेला, मेला तथा महोत्सव गर्न पाइने छैन ।
जिल्ला प्रशासनले कोभिड १९ सम्बन्धि स्वास्थ्य मापदण्ड पालना गर्न तथा सामान खरिदबिक्री गर्दा, भिडभाडमा रहँदा नाक, मुख र चिउँडो छोपिने गरि अनिवार्य माक्सको प्रयोग गर्न अनुरोध गरेको छ ।
सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहिको बढी चाप हुने कार्यलयमा भिडभाड नहुने उपयुक्त तरिका अवलम्बन गर्न तथा स्वास्थ मापदण्डको पालना हुने गरि सेवा प्रवाह गर्न कार्यलय प्रमुखलाई निर्देशन दिइएको छ ।
जारी आदेश अनुसार सार्वजनिक निकाय, स्थलहरु (कार्यलय, होटल, रेष्टुरेन्ट, पार्क, हवाइयात्रा आदि) मा प्रवेश गर्दा यहि माघ ७ गते देखि अनिवार्य कोभिड १९ विरुद्धको खोप लगाएरको कार्ड हेरेर मात्र प्रवेश गर्न मिल्नेछ ।
जिल्ला भित्र रहेका सरकारी/निजि संस्था स्थानीय तहले विगतमा सञ्चालन गरेका कोभिड १९ उपचार केन्द्र तथा आइसोलेशन वार्डलाई सुदृढ गरि सञ्चालनमा ल्याइने तथा स्वास्थ कार्यलयले स्थानीय तह सँगको समन्वयमा सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समुहका विद्यार्थीहरुलाई अनिवार्य रुपमा एक हप्ता भित्रमा कोभिड १९ विरुद्धको खोप लगाइ सक्ने कार्यतालिका बनाइ कार्यन्वयनमा ल्याउन निर्देशन दिइएको छ ।
औद्योगिक तथा व्यवसायिक संस्था, फार्म तथा पसलहरु स्वास्थ मापदण्डको पूर्णरुपमा पालना गरेर मात्र सञ्चालान गर्न पाइने छ ।
त्यस्तै कोभिड १९ सम्बन्धि आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट अनुगमन गरिने तथा अनुगमनको क्रममा आदेशको अवज्ञा गरेको पाइएमा संक्रमण रोग, ऎन २०२० र प्रचलित कानुन बमोजिम कारबाही गरिने जारी आदेशमा उल्लेख छ ।