विराटनगर । कोशी प्रदेशकी उप सभामुख सृजना दनुवारले आफू बिरामी भएको भन्दै प्रदेश सभामा उपस्थित हुन नसक्ने भन्दै जानकारी गराएकी छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभाको बैठकमा दनुवारले आफू बिरामी भएका कारण सभामा उपस्थित हुन नसक्ने जानकारी गराएकी हुन् ।
५ बजेपछि गराइएको जानकारी कार्यावस्था शाखाले दर्ता भने गरेको छैन । उनले कोशी प्रदेश सभा नियमावलीको नियम ११ बमोजिम सभा सञ्चालन गर्न समेत अनुरोध गरेकी छन् । नियमावलीको नियम ११ मा अध्यक्ष मण्डलको व्यवस्था रहेको छ ।
सभामुख र उप सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नका लागि संसद् नियमावली २०७४ को संशोधन सहितको नियम ११ मा अध्यक्ष मण्डल गठनको व्यवस्था छ ।
सोही नियम अनुसार कोशी प्रदेश सभामा नेपाली काँग्रेसका तर्फबाट इस्राइल मन्सुरी,राप्रपाका अम्बरबहादुर विष्ट, एमालेका मालती सुब्बा र माओवादी केन्द्रका गीता तिम्सिना अध्यक्ष मण्डलमा निर्वाचित भएका छन् । अध्यक्ष मण्डलमा रहेका राप्रपाका प्रदेश सभा सदस्य अम्बर बहादुर विष्ट र एमालेका मालती कुमारी सुब्बा हिजै घरायाशी काम परेको भन्दै बिदामा बसेका छन् ।
उप सभामुख दनुवारले आफ्नो अनुपस्थिति भएको बेला सभा सञ्चालनको जिम्मा मन्सुरीलाई दिएकी छन् । उनले आफू बिरामी भएर उपचार गराउन बाहिर जानु पर्न भन्दै नफर्कीन्जेल सम्मका लागि सभा सञ्चालनको जिम्मा मन्सुरीलाई दिएकी हुन् ।