ताप्लेजुङ । ताप्लेजुङमा हिमपातका कारण पुस १४ गतेदेखि जंगलमै फसेका मिक्वाखोला गाउँपालिका–५ पापुङका लाक्पाटासी र उनका छोरा पासाङ शेर्पा हिँडेरै बस्ती फर्किएका छन् ।
हिउँ पहिरोले चौंरी, याक बगाएको र आफूहरु ओडारमा बसेको बताएका उनीहरुले हेलिकोप्टरबाट उद्धार गरिदिन टेलिफोनबाट आग्रह गरेका थिए ।
उनीहरुको आग्रहपछि वडाध्यक्ष डण्डु शेर्पाले अल्टिच्युट एयरको हेलिकोप्टर भाडामा लिइ शनिबार र आइतबार खोजेका थिए । दुवै दिन नभेटिएपछि उनीहरुको खोजीका लागी गाउँका तीन जना युवालाई हेलिकोप्टरले गोठ भएको क्षेत्रमा छोडेको थियो ।
उनीहरु भने फर्किएका छैनन् । खाद्यान्न, कपडा बोकेर गएको र मौसम पनि राम्रै भएकाले फर्केर आउने अपेक्षा गरिएको वडाध्यक्ष शेर्पाले बताए ।
बाबुछोराकै शारीरिक अवस्था भने ठिक रहेको वडाध्यक्षले बताए । जंगलबाट झर्ने क्रममा हाइड्रोपावर कम्पनीले छोडेको खानेकुरा बाटामा भेटेपछि त्यही खाएर सोमबार बेलुका बस्तीमा निस्किएको छोरा पासाङले सुनाएको वडाध्यक्षले बताए ।